Sorry, that menu does not exist.
 

पर्यटकीय स्थल अर्नाकोटमा सिँढी तथा भ्यू टावर निर्माण कार्य सुरु !

डम्मर बुढा मगर, बागलुङ (बुर्तिबाङ), २०७५ जेठ ७ । पश्चिम बागलुङको छुट्टै पहिचान बोकेको पर्यटकीय क्षेत्र निसीखोला गाउँपालिका–२ को अर्नाकोट देउरालीमा पर्यटकीय क्षेत्रको विकासका गर्नका लागि सिँढी तथा भ्यू टावर निर्माण कार्य सुरु भएको छ ।

निसीखोला गाउँपालिकाले २०७४/७५ को लागि विनियोजन गरेको बजेट अन्तरगतको ५ लाख रुपैयाले यस स्थानमा सो निर्माण कार्य सुरु गरिएको निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुबिर विकले जानकारी दिए ।

सिँढी देउरालीदेखि बराह मन्दिरसम्म करिब ३ मिटर निर्माण गरिएको छ । यसको निर्माण कार्य सम्पन्न भए पछि त्यस स्थानका स्थानीय तथा त्यहाँ आउने आन्तरीक तथा बाह्य पर्यटकलाई देउरालीदेखि मन्दिरसम्म पुग्न सहज हुने छ । अप्ठ्यारो र गेग्रेटासहितको यो बाटोमा सिँढी निर्माण गरे पछि स्थानीयहरुलाई केही राहतको महसुस हुने छ ।

त्यस्तै सोही स्थानमा रहेको बराह मन्दिरको समेत स्तरोन्नती तथा घेराबार कार्य भैरहेको अध्यक्ष विकले जानकारी दिए । हरेक वर्ष भदौ महिनामा यहाँ मेला लाग्ने गर्छ । मेलाले यस क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पुराउने उनको भनाई छ ।

यहाँबाट बागलुङको विभिन्न क्षेत्र, गुल्मी, प्युठान लगाएत विभिन्न रमणिय क्षेत्रहरु र लोभै लाग्ने गरि दाँत देखाएर हाँसेका हिम श्रृङ्खलाको मोहीत मार्ने दृश्य देख्न सकिन्छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि स्वास्थ्य, शिक्षा, खानेपानी लगाएत विकासका पूर्वाधारको विकास गर्न जरुरी रहेको देखिन्छ ।

यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन सकियो भने निसीखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकाका विभिन्न स्थानका स्थानीयहरुको जीवनशैलीमा केही परिवर्तन अवस्य आउने छ । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका निम्ती निसीखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको ध्यान जान जरुरी देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply