बागलुङ, २०७५ जेठ १२ । नेपालका दुई ठुला कम्युनिष्ट पार्टीको एकीकरणबाट उत्साहित बनेका तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु यतिबेला एकीकृत रुपमा शुभकामना आदान प्रदानमा जुटेका छन् ।
जेठ ३ गते केन्द्रमा पार्टी एकीकरण गरेपछि उत्साहित बनेका नेता कार्यकर्ताहरुले एकीकरणको सन्देश आम जनताका बीचमा पु¥याउन शनिवार काठेखोलामा सन्देशसभा तथा चियापान कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेताहरु ज्ञामनाथ गैरे (अनिल), हिराबहादुर केसी, रामबहादुर जिसी, कृष्ण पाठक, टिकाराम सापकोटा, काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, वडा अध्यक्ष चित्रकला छन्त्याल श्रीस लगायतले पुष्पलालको नेतृत्वमा गठित कम्युनिष्ट पार्टीले लिएको लक्ष्य प्राप्तिको अवसर यतिबेला प्राप्त भएको भन्दै वक्ताहरुले यसलाई सदुपयोग गर्न स्थानीय तहदेखि केन्द्रसम्मका सबै नेता कार्यकर्ता इमान्दारीका साथ लाग्नु पर्नेमा जोड दिएका थिए ।
सामाजिक न्याय सहितको सुदृढ र समृद्ध देश निर्माणको अभियान सफल पार्ने दायित्व नेपाल कम्युनिष्ट पार्टीको काँधमा आएको भन्दै वक्ताहरुले यो अवसरलाई सफल पारेर सुखी नेपाली र समृद्ध नेपाल बनाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहने बताएका थिए ।
अब कसैलाई दोष लगाएर पन्छिने अवस्था छैन, भन्दै वक्ताहरुले नेपाल कम्युनिष्ट पार्टीले लिएको नीति अनुसार देशलाई छोटो समयमा विकशित बनाउनका लागि आ–आफ्नो ठाउँबाट सक्रिय र रचनात्मक क्रियाकलापमा जोड दिएका थिए ।
नेपालको इतिहासमा पहिलो पटक स्पष्ट बहुमत सहित कम्युनिष्ट पार्टीको सरकार बनेकोले यो अवसरलाई सदुपयोग गरी जनताको जनजिविकामा सुधार ल्याउन केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले जनमुखी कार्यक्रम बनाउनु पर्ने वक्ताहरुले बताएका थिए ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका नेता डिल्लीराज गौतमको अध्यक्षता, कृष्ण थापाको स्वागत र अञ्जु जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।