खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन ११ । प्रशिद्ध कालिका भगवती मन्दिरमा दाताहरुबाट बिभिन्न संरचना निर्माणमा सहयोग हुने क्रम बढेको छ । यसै क्रममा कालिका भगवती मन्दिरको मुख्य प्रवेश व्दारमा लगाउन एक श्रद्धालु भक्तले चाँदीको फ्रेम चढाएका छन् । करिब १५ किलो चांदीबाट पाटनका कलाकार तथा कालिगढहरुव्दार तयार गरिएको सो चांदीको फ्रेम मंगलबार मन्दिरको मुख्य प्रवेश व्दारमा जडान गर्ने कार्य सम्पन्न भएको हो ।
बागलुङ दमेक स्थायी घर भै हाल कीर्तिपुरमा सफल ब्यवसाय गर्दै आएका माधब सापकोटाले करिब १५ लाख बराबरको लागतमा बनेको सो चाँदीको फ्रेम मन्दिरमा चढाएका हुन ।
बागलुङ कालिका साक्षात देवी भएका कारण लाखौं भक्तजनहरुको अपार आस्था तथा विश्वास संगै आफुलाई पनि मन्दिरको विकासमा केही योगदान पु–याउने उद्देश्यले ब्यवस्थापन समितिको नीति र सुझाव अनुसार मन्दिरको व्दारमा चाँदीको फ्रेम चढाएको सापकोटाले बताए । बागलुङ कालिका भगवती प्रतिको आस्था र बिश्वासले आप–नो परिवारले सफल व्यवसाय र सुखी जीवनको लागी सधै प्रर्थना गर्ने गरेको सापकोटाले बताए ।
पछिल्लो समय गुठी ब्यवस्थापन समितिको कार्य योजना तथा मन्दिरको धार्मिक तथा पर्यटकीय आकर्षणका लागी सरकारी तथा गैर सरकारी निकाय र भक्तजनहरुबाट सहयोग हुने क्रम बढ्दै गएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले इबागलुङलाई बताए ।