शब्द/चित्र : किरण आचार्य,
बागलुङ २०७५ जेठ १४ । धौलागिरी बहुमुखी क्याम्पसको प्रांगणमा आज दिउँसो अनौठो दृश्य देखियो । कतै दनदनी आगो दन्किरहेको थियो त कतै मानिसहरुको भागाभाग थियो, कतै स्ट्रेचरमा घाईतेहरु बोकेर लगिदै गरेको दृश्य देखिन्थ्यो भने कतै मानिसहरु सुरक्षित स्थानको खोजीमा यताउता भागदौड गरिरहेका थिए । कोहि सल्लाको रुखको छेउ लागेर आफ्नो बचाउमा लागेको देखिन्थ्यो त कतै घाईतेहरुलाई उपचारमा लैजादा गरेको कारुणिक दृश्य दृष्टिगोचर हुन्थ्यो । कतै कोलाहल, कतै उद्धार, कतै दौडादौड त कतै दमकलले अग्नि समन गर्दै गरेका दृश्यहरुले लाग्थ्यो त्यहाँ ठुलै प्राकृतिक विपद आईलागेको छ ।
हो, त्यहाँ प्राकृतिक विपद या मानवीय कारणबाट हुनसक्ने संभावित क्षेतीबाट कसरी जोगिने जोगाउने सम्वन्धी प्रयोगात्मक कृयाहरु सन्चालन भैरहेका थिए । विपद व्यवस्थापनमा एक प्रमुख अंगकोरुपमा रहेको नेपाली सेनाका साथै जनपद प्रहरी, सश्स्त्र प्रहरी, विपद व्यवस्थापनसंग सम्वन्धित कार्यालयहरु समेतको सहभागितामा क्याम्पसचौरमा प्राकृतिक बिपद सम्वन्धी प्रयोगात्मक अभ्यास कार्य गरिएको थियो ।
क्याम्पस प्रांगणमा देखिएको आजको दृश्य विपदको बास्तविक घटना नभै सम्भाव्यता र त्यस्को व्यवस्थापनलाई चूस्तदुरुस्त राख्न गरिएको एक प्रकारको रिहर्सल थियो ।
कुनैपनि विपद पूर्वसूचना दिएर नआउने भएकाले हरदम हरपल विपदबाट जोगिन र विपदमा परेकाहरुको उद्धार गर्न तम्तयारी अवस्थामा रहन गरिएको एउटा अभ्यास थियो ।
आफुसंग रहेको दक्ष जनशक्ति एवं उपलव्ध साधन र श्रोतको प्रयोग गरी विपद व्यवस्थापन कार्य प्रभावकारी ढंगबाट संन्चालन गर्न यसता अभ्यास कार्यहरुले सहयोग पुग्ने हुँदा आज यसप्रकारको अभ्यास कार्य भएको बताईएको छ । सबै सरकारी निकाय र सुरक्षा संयन्त्र तथा गैह्र सेनिक निकायहरुसंग समन्वय गरी परिचालन भएमा उद्धारकार्य बढी प्रभावकारी र व्यवस्थित हुने निश्चित छ ।
बागलुङमा कार्यरत अर्जुनबाण गण नेपाली सेनाको निर्देशन बमोजिम जिल्लामा आपत विपद पर्दा व्यवस्थापन कार्य सम्पन्न भैरहेका छन् । वर्षातको सुरुवात भैसकेको अवस्थामा आईपर्न सक्ने बाढी पहिरोजस्ता दैबी प्रकोपबाट जनताको उद्धारका लागि तन्दुरुस्त रहन पनि आजको विपद व्यवस्थापन अभ्यासले सहयोग पुग्ने विश्वास गरिएको छ ।
क्याम्पस चौरमा अभ्यासकार्य हुनु अगाडी जिल्ला प्रशासन कार्यालयको संयोजन तथा अर्जुन वाण गणको आयोजनामा स्थानीय जिल्ला समन्वय समितिको कार्यालयमा विपद व्यवस्थापन सम्वन्धी छलफल तथा पूर्व तयारी सम्वन्धी कार्यक्रम सम्पन्न भएको थियो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, २३ नं बाहिनीपति सहायक रथी कृष्णमुरारी न्यौपाने, अर्जुनवाण गणका गणपति प्रमुख सेनाी भुवनराज देवकोटा, प्रहरी उपरीक्षक दीपक रेग्मी लगायत सम्वन्धित कार्यालय प्रमुखहरुले मन्तव्य व्यक्त गरेका थिए ।