सुमन सुनार, बुर्तिवाङ २०७५ जेठ २३ । ढोरपाटन नगरपालिका र तमानखोला गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि योजना तर्जुमा तथा बजेटिङ सम्वन्धी दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । संघिय मामिला तथा समान्य प्रसाशन मन्त्रालयको सहयोग तथा जिल्ला समन्वय समिति बागलुङको आयोजनामा आज देखि बुर्तिबाङ बजारको चुरेलाबास स्थित थकाली समुदायको भवनमा तालिमको सञ्चालन गरिएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले जननिर्वाचित जनप्रतिनिधिहरुले ऐन, कानुनभित्र रहेर सेवा प्रवाह गर्नुपर्ने बताए । पटक, पटक जनताका सामु गरिएका प्रतिबद्धता पुरा गर्न र समृद्ध मुलुक निर्माणका लागी जनप्रतिनिधिले आफु असफल नहुने गरि जनचाहना अनुसारको काम गर्न आवश्यक रहेको उनले बताए । प्रमुख ढुंगानाले तालिमले आगामी बर्षको लागी उपलब्धीमुलक योजना छनौट तथा बजेट विनियोजन गर्न जनप्रतिनिधिहरुलाई सकारात्मक सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
यस्तै जिल्ला समन्वय समितिका उप–प्रमुख विष्णु भुसालले जनप्रतिधिले आवश्यकता केन्द्रीत योजना छनौट तथा बजेट विनियोजन गर्नुपर्ने बताए । पहिलो बर्ष समय र अनुभवको अभावले विविध कमजोरीहरु भएको भन्दै भुसालले आगामी वर्ष योजना र बजेटलाई कसरी ब्यवस्थापन र प्राथमिकतामा राख्ने भन्ने विषयमा ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
विगतमा जुन झण्डामा उभिएर आएको भए पनि जननिर्वाचित भैसके पछि आम जनताको झण्डा एउटै सम्झेर कर्तब्यनिष्ठ भएर काम गर्न उनको आग्रह थियो । यस्तै कार्यक्रममा जनप्रतिनिधिका तर्फबाट ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले पनि बोलेकी थिईन् ।
जिल्ला समन्वय समितिका प्रमुख ढुंगानाको अध्यक्षता रहेको तालिमको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकारी भिम बहादुर कुँवरको तालिमको उद्देश्य र विषय बस्तु सम्वन्धी जानकारी सहितको स्वगत मन्तब्य रहेको थियो भने सञ्चालन जिल्ला समन्वय समितिका नायब सुब्बा सस बहादुर पुनले गरेका थिए ।
तालिमको आज पहिलो दिन विकास योजनाको अवधारणा, विकासक्रम र संबैधानीक एवं कानुनी ब्यवस्था, स्थानियतहको बार्षिक योजना र वजेट तर्जुमाः पुर्व तयारी, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण, स्थानिय तहको बार्षिक योजना र बजेट तर्जुको विषयमा जानकारी दिईएको थियो । साथै तालिमको सार्थकताको लागि सामुहिक अभ्यासमा समेत प्रतिक्षार्थीहरुलाई सहभागी गराइएको थियो ।
तालिममा ढोरपाटन नगरपालिका र तमानखोला गाँउपालिकाका उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष, कार्यपालिकाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख र योजना तथा विषयगत शाखा हेर्ने कर्मचारीका साथै नगरपालिका तथा गाउँपालिका मातहतका अन्य कार्यालयका कर्मचारीहरुकोे सहभागीता रहेको छ ।
तालिमको सहजीकरण स्रोत ब्यक्तीको रुपमा गीता श्रीष, जिल्ला समन्वय समितिका अधिकारी भिम बहादुर कुँवरले गरिरहेका छन् ।
जिल्ला समन्वय समिति बागलुङको तेस्रो चरण अन्तर्गतको कार्यक्रम अनुसार सञ्चालन गरिएको उक्त तालिम यस अघि बरेङ गाँउपालिका र जैमिनि नगरपालिका, बडीगाड गाँउपालिका र निसीखोला गाउँपालिकामा सम्पन्न भैसकेको छ । त्यस्तै, २७ र २८ गते ताराखोला गाँउपालिका र गल्कोट नगरपालिकामा र ३० र ३१ गते बागलुङ नगरपालिका र काठेखोला गाँउपालिकामा सञ्चालन गरिने जिल्ला समन्वय समिति बागलुङले जनाएको छ ।