डम्मर बुढा मगर, बुर्तिबाङ २०७५ जेठ २६ । २०७२ बैशाख २९ गतेको महा–भूकम्पले घर गुमाएका पश्चिम बागलुङका भूकम्प पीडितले पहिलो र दोस्रो किस्ताको राहत रकम पाए पछि धमाधम घर बनाउन सुरु गरेका छन् ।
सरकारले पहिलो किस्तामा ५० जहार र दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ राहत वितरण गरे पछि यहाँका भूकम्प पीडितले घर बनाउन सुरु गरेका हुन् ।
सुरुको पहिलो किस्तामा दिएको राहत रकमले घरको जग बसाल्न सुरु गरेको र दोस्रो पटकको राहत रकमले घरको तला बनाउन लागेको निसीखोला गाउँपालिका–४ का चन्द्रकान्त भुसालले बताए ।
सरकारले पहिलो पटक राहत स्वरुप दिएको ५० हजार नगदले सानो छाप्रो समेत बारेर बस्न नसकिने सोचे पनि दोस्रो पटकको राहतले घर बन्ने आश गरेको पीडित भुसालले बताए ।
त्यस्तै भूकम्पले घर ढले पछि अरुको घरमा आश्रय लिएर बसेका बागवीर नेपालीले पनि अब आफ्नै घरमा बस्न पाउने आशा गरेको बताए ।
अहिले निसीखोला, भूजीखोला तथा तमानखोलामा पीडितहरुले राहत रकम पाए पछि घर बनाउन सुरु गरेका हुन् । उनीहरुले तालिम प्राप्त कामदारहरुबाट भूकम्प प्रतिरोधात्मक घर निर्माण गरि रहेका छन् ।