दिनेश शर्माको स्थलगत रिपोर्ट
बागलुङ २०७५ जेठ ३० । बडीगाड गाउँपालिकाको बैठक साबिक ग्वालिचौर गाविसको भीरकटेरी जंगलमा रहेको चमेरे गुफामा सम्पन्न भएको छ । पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण तर प्रचार प्रसारको अभावले ओझेलमा परेको चमेरे गुफामा गाउपालिकाको बैठक बस्नुले चमेरे गुफाको मुहार फेरिने बिश्वास बढेको छ ।
अध्यक्ष मेहरसिँह पाइजाको अध्यक्षता भएको बैठकमा उपाध्यक्ष अम्मर बहादुर श्रीस कार्यकारी प्रमुख अर्जुन शर्मा लगायत कार्यपालिका सदस्यहरु बोम बहादुर थापा ,हिमा खरेल, खडक पुन,प्रेम गलामी, मौसमकाजी क्षत्री, यम श्रीस, कृष्ण के सी, वीरेन्द्र बुढा ,सोमन्त सलामी,केशमायाँ छन्त्याल, समाजसेवी बालकृष्ण अर्याल पत्रकार दिनेश शर्मा लगायतको समुपस्थितिमा बसेको बैठकमा अध्यक्ष उपाध्यक्ष वडाध्यक्ष लगायत सबै गाउँपलिका सदस्यहरुले चमेरे गुफाको संरंक्षण र विकासका लागि एक महिनाको पारिश्रमिक प्रदान गर्ने सहमतिका साथै गुफाको व्यवस्थापनका लागि आगामी गाउँ परिषदबाट रु २५ लाख विनियोजन गर्न माग गर्ने निर्णय गरिएको छ । त्यस्तै गुफा परिसरमा विद्युत पुर्याउने, संरक्षण र प्रचार प्रसारको लागि उचित पहल गर्ने, निर्णय गरेको छ।
सोहि बैठकमा गुफाको व्यवस्थापनका लागि कार्यकारी अधिकृतले पनी रु ५ हजार प्रदान गर्ने उद्घोष गरेका थिए ।
बैठकमा कार्यपालिका सदस्यहरुले गाउपालिकामा रहेका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरी आय आर्जनको श्रोत बनाउनु पर्ने विचार व्यक्त गरेका थिए ।
अध्यक्ष पार्इजाले चमेरेगुफा बत्तिमुनीको अँध्यारोमा परेको भन्दै यसलाइ ब्यवस्थित गरि पर्यटक भित्र्याउन सके धेरै उपलब्धिमुलक हुने विचार व्यक्त गरेका थिए । वडीगाडको पर्यटन प्रवद्र्धन तथा चमेरे गुफा संरक्षणको लागि कार्यपालिकाको वैठक कोषे ढुंगा सावित हुने अध्यक्ष पाइजाले वताए।
बैठकमा कार्यकारी अधिकृत अर्जुन शर्माले ढोरपाटन भ्रमणमा जाने पर्यटकहरुलाई एक दिन भएपनि चमेरे गुमा अवलोकन भ्रमणमा रोक्न सके गाउपालिकालाई निकै आर्थिक लाग हुने बताएका थिए ।
बैठकको समापन एवं चमेरे गुफाहरुको अवलोकन पछी त्यहिँ तल रहेको समथर जमीनमा बनभोजको आयोजना गरिएको थियो भने सहभागीहरुले निकै प्रफुल्लित रुपमा नाँचगान सहित मनोरन्जन गरेको दृश्यले बनभोज स्थल (पिकनिक स्पट)को लागि अत्युत्तम स्थलको पहिचान दिईरहेको थियो ।
सधैँ खार बजारस्थित कार्यालयमा हुने गाउपालिकाको २९ सौँ बैठक चमेरे गुफामा गर्ने अध्यक्ष मेहरसिँह पाईजाको प्रस्तावले गाउपालिका परिवार उत्साहित थियो नै बैठकमा राजनीतिक दलका प्रतिनिधी, समाजसेवी, बुद्धिजीवी, पत्रकार व्यापारी समेतलाई लिएर अध्यक्ष पाईजा गुफातिर बढेको दृश्यले नयाँ उमंग र नयाँ तरंगको अनुभूति दिईरहेको थियो ।
ग्वालिचौरको खौलार देखी पीकअप जीपमा साढे ८ किलो मिटर कच्ची सडक उक्ले पछी गोपिनी खोलामा टोली उत्रिएको थियो भने त्यहाँ देखी करीब ३ सय मिटर तेर्सो बाटो पैदल हिँडेर भीरकटेरीको जगलमा रहेको चमेरे गुफामा पुग्दा त्यहाँको सुन्दर दृश्यले सबै सहभागीहरु आश्यर्य चकित परेको बताईरहेका थिए । स्मरणीय छ, गोपिनी खोला देखी धार्मिक एवं पर्यटकीय महत्वको चमेरे गुफा सम्म पुग्नका लागि गत आवमा गाउपालिकाले विनियोेजन गरेको रु १० लाख रकमबाट चमेरे गुफा पदमार्ग निर्माण उपभोक्त समितिले रेलिङ सहितको पदमार्ग निर्माण गरिरहेको छ ।
रसरती हेर्दा खौलार देखी गोपिनी खोला सम्मको साढे ८ किलोमिटर मोटरबाटोको स्तरोन्नति चमेरे गुफाको विकासका लागि अनिर्वार्य आवश्यकता रहेको देखिन्छ । सडकको स्तरोन्नति तथा चमेरे गुफाहरुको महत्वलाई दर्शाउने खालको व्यापक प्रचार प्रसार भएमा निश्चित छ चमेरे गुफा बडीगाड गाउपालिकाको मात्र नभएर जिल्लाकै लागि ‘लक्ष्मी’ सावित हुने छ ।
चमेरे गुफा र त्यस भित्रको दृश्य
चमेराहरको वासस्थान भएकै कारण चमेरे गुफा नामाकरण भएको हुनुपर्छ भन्ने मान्यता रहेको छ । हाल गुफामा चमेराहरु छैनन् तर चमेराका विष्टा भने देख्न सकिन्छ । भूकम्पका कारण चमेराहरुले बासस्थान फेरेको स्थानीयको भनाई पाईयो ।
चमेरे गुफा भित्र प्राकृतिक रुपमा रहेका विविध देवीदेवताका आश्चर्यजनक आकृती विभिन्न आकारका शिवलिङ्गहरु, बिबिध प्राकृतिक कलात्मक अपत्यारिला बुट्टेदार दृश्यहरु रहेका छन।
करिब १० मिटरको फरकमा रहेका दुइओटा गुफा मध्य पहिलो गुफा करिब १५० मिटर भित्र सम्म फैलिएको र तिन चार ओटा १५/२० मिटर का अध्यारा कोठाहरु रहेका छन । उक्त गुफा भित्र पुरै चकमन्न अँध्यारो रहेको हुँदा बैकल्पिक प्रकाश लाइटको साहारा बिना र एक्लै भित्र पस्न असम्भब जस्तै छ भने भित्र पसिसकेपछी निकै आनन्ददायक दृश्य अबलोकन गर्न पाउँदा मन प्रफुल्लित हुन्छ।
अर्को करिब १० मिटर पर रहेको गुफामा निकै रोमान्चक र मनमोहक खालको दृश्यहरु जस्तै हात्तिको सुड, खेतको गरा, केराको बोङ्गा विभिन्न देवीदेवताका मुर्ती लगायत रहेका छ्न।
यस्तो छ, चमेरे गुफा बारे किम्बदन्ती
केहि सय बर्ष अगाडि उक्त गुफामा दामोदर नाम गरेका एक तपस्वीले गुफा भित्र अनवरत रुपमा तपस्या गर्ने गर्दथे त्यस्तो भिर र अनकन्टार जङ्गल भित्र एक्लै बस्ने र तपस्या गर्ने भएको हुदा उनलाइ स्थानियहरु ‘भूत’को संज्ञा दिन्थे, जसको कारण अहिले सम्मपनि केही मानिसहरु गुफालाई ‘भूतको गुफा’ भन्ने गर्दछन ।उक्त तपस्वी ऋषीले धेरै लामो समयपछी तपस्याको माध्यमबाट अदभूत शक्ति हासिल गरे र उनले नजिक रहेको ठाडो खोलाको नाम गोपिनी खोला राखे, जुन अहिले पनि सोही नामले परिचित छ। शक्ति हासिल गरेपछी उनी कहिले देखा पर्ने त कहिले गुप्त बासमा जाने गर्दथे केही समय पछि स्थानियले तपस्वी सङ्गबाट सुनको पनिउ मागेर ल्याइ फिर्ता नगरी लुकाइदिए पश्चात् उनी मानव जाति प्रती रुष्ट भइ त्यही गुफामा अन्तर्ध्यान भइ बिलीन भएको श्रुति स्मृति रहेको छ । तपस्वी अन्तर्ध्यान भएको करिब ६०/७० बर्ष पश्चात् गुफा भन्दा करिब १० किलोमिटर माथी केशरपोखरी भन्ने ठाउबाट पदम घिमिरे ११ दिन सम्म अन्तर्ध्यान भइ हराएपछी खोज्दा त्यही चमेरे गुफामा भेटिएको र उनका सन्तान हालसम्म पनि सोही भिरकटेरामा रहेको र उनका शाखालाई बराहको सन्तान भन्ने गरिएको स्थानियको दाबी छ।