निर्मल पौडेल (एन पी घायलं) पर्वत २०७५ असार ५ । २० महिना अगाडि वैदेशिक राजगारीका लागि मलेसिया गएर आफ्नै साथीको कुटाईवाट ज्यान गुमाएका पर्वत मोदी गाउँपालिका ५ वाजुुङ धमिलपानीका किशोर केसी (नसिब) को मोदी खोलामा अन्यष्टि गरिएको छ । मृत्यु भएको ३ हप्तापछि किशोर के.सी नसिवको शव सोमवार विहान नेपाल घर आएको थियो ।
बाबु भीमबहादुर केसीले कान्छा छोरा नसिबको शबमा दागबत्ती दिएका दिए । जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए । रोजगारीका लागि बिदेश गएका युवाको अल्पायुमै आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ । मृतकको शब गाउँमा आएपछि सयौ गाउँलेहरु श्रद्धाञ्जली दिन पुगेका थिए । मृतक नसीबको शव देख्दा कसैको मन नथामिएको मोदी गाउपालिकाका अध्यक्ष प्रेम पौडेलले वताए ।
रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका ४ जनाले नसिवमाथि आक्रमण गरेका थिए । संगै काम गर्ने नेपाली युवाहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साथीहरुले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो । केसी कुटपिट गरि हत्या गर्ने साथीहरु चारै जना प्रहरी नियन्त्रणमा रहेपनि एक जनालाई दोषी देखाएर अन्य उम्केको पाइएको छ । चारै जना दोषी भएपनि एक जनालाई जिम्बेवारी स्विकार गर्न लगाई अन्य रिहा भएको सुचना आएको भक्त कुवँरले बताए । ‘अपराधमा चारै जना संलग्न भएकाले उनीहरुका बिरुद्ध कानुनी लडाई लड्नु पर्ने अवस्था आएको छ ’ उनले भने ।
२० महिना अघि रोजागरीका लागि मलेसिया पुगेका केसी परिवारका कान्छा सन्तान हुन । उनी अविबाहित थिए । उनका पिता भिमबहादुर केसी पनि बैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए । यस्तो अवस्था कसैले भोग्न र देख्न नपरोस ।