Sorry, that menu does not exist.
 

निसीखोलाको सार्वजनिक सुनुवाई, उपभोक्ता समिति देखी हाइड्रो पावर निर्माणसम्म जनताको चासो !

राम सुवेदी, बुर्तिबाङ २०७५ असार ६ । निसीखोला गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५को योजना तथा निति कार्यक्रमको सम्पादन कसरी भयो भन्ने सवालमा नागरिकको सुझाव सल्ला र राय जान्नका लागि गाउँपालिकाको कार्यालयले यस्तो कार्यक्रम आयोजना गरेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।

स्थानीय सरकारबाट सञ्चालन गरिने कार्यक्रम वा आयोजनालाई प्रभावकारिता तथा मितव्ययिताको सिद्धान्त अनुसार संचालनमा सहयोग पुयाउन, जनता र सरकार विचको सम्बन्ध सेतुको रुपमा रहेका कर्मचारीहरुप्रतिको काम, प्रकृति, ब्यवहारका बारेमा जानकारी थाहा पाउन, कार्यालयले सार्वजनीक सेवा प्रवाहमा गरेका काम, प्रगती र सेवा प्रवाह सम्बन्धि जानकारी लिन, सेवाग्राहीले सेवा लिँदा भोग्नुपरेका समस्याका बारेमा कार्यालयलाई समेत अवगत गराउन , सार्वजनिक सेवा प्रवाह चुस्त, दुरुस्त बनाउन आवश्यक नीतीगत, कानुनी, व्यवहारगत सल्लाह, सुझाव लिन, दिन, स्थानीय सरकारको वित्तिय एवं भौतिक प्रगतीबारे सर्वसाधरण एवं सरोकारवालालाई सुसूचित गराउन र जनप्रतिनिधी मार्फत सम्पादन गरिएका काम कार्यहरुको वारेमा जानकारी दिन उक्त कार्यक्रम आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल पनेरुले जानाकारी दिए ।

जिल्ला सदरमुकामबाट १२० कि.मी. को दुरीमा रहेको निसीखोला गाउँपालिकामा करिव २३ हजार ५०० जनसङ्ख्या रहेका छन् ।

७ वटा वडा कार्यालय रहेको यस निसीखोला गाउँपालिकामा वडा नं. १ र ७ को आप्नै वडा भवन अर्थात साविक गा.वि.स. भवनबाट सञ्चालित छन् । वडा नं. ३ र ४ दुवै साविक बोहोरागाउँ गा.वि.स. को भवनबाट सञ्चालित छन् । वडा नं. २, ५ र ६ को आप्नो र सरकारी भवनको अभावमा भाडाको घरबाट सञ्चालित रहेको कार्यक्रमका अवसरमा प्रशासकीय अधिकृत पनेरुले बताए ।

गाउँपालिकाको सम्बन्धमा, गाउँपालिकाको केन्द्र रहेको जुग्जाखोलामा सरकारी कार्यालय नभएको र सीमित निजी घरका कारण भाडामा समेत लिन नसकिने भएकाले १ घरबाट मात्र सार्वजनिक सेवा प्रवाह भइरहेको अवस्थामा हाल आएर छुट्टाछुट्टै गरी ५ वटा घर भाडामा लिई शाखा विस्तार गरी कार्यालय सञ्चालनमा आएको उनले बताए ।

२५ हजारसम्म जनसङ्ख्या रहेको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत १ जना, शाखा अधिकृत १ जना, इन्जिनियर १ जना, नायव सुब्बा ८ जना सहायक महिला विकास निरिक्षक १ जना, लेखापाल १ जना, आन्तरिक लेखा परिक्षक १ जना, सव इन्जिनियर २ जना, सह लेखापाल १ जना गरी जम्मा १७ जना गाउँपालिकामा कर्मचारी रहने व्यवस्था छ भने प्रत्येक वडा कार्यालयमा नायव सुब्बा वा खरिदार स्तरको कर्मचारी १ जना सव इन्जिनियर १ जना गरी जम्मा १४ जनाकर्मचारी गरि ३१ जना कर्मचारी रहनु पर्दछ । तर उक्त गाउँपालिकामा अहिले १ जना प्रमुख प्रशासकिय अधिकृत १ जना श्रोत व्यक्ति १ जना कम्प्युटर अधिकृत १ जना नायव सुब्बा १ जना लेखापाल २ जना सब इन्जिनियर १ जना सहलेखापाल, १ जना खरिदार तथा वडा कार्यालयहरुमा ३ जना वडा सचिव रहेको कार्यक्रमका अवसरमा प्रशासकीय अधिकृत पनेरुले जानाकारी दिए ।

नयाँ संरचना अनुसार स्थानीय तह सञ्चालनमा आएसँगै निसीखोला गाउँपालिका पनि समस्याकाबीच सञ्चालित छ । कार्यालय भवनको अभावले ४ वटा घर भाडामा लिईरहेको जसबाट कार्यालय सञ्चालन गर्दा पनि सम्पूर्ण शाखाहरु विस्तार गर्न नसकिएको बताइएको छ । भएका कोठाहरु पनि स—साना भएकाले फाइलिङ, डकुमेन्टेसन, बसेर कार्य गर्न समेत असहज भईरहेको साथै अझै पनि एकै कोठमा दुई वा सो भन्दा बढि शाखाहरु सञ्चालन भईरहेको छ । ठाउँको अभाव र भाडामा बस्ने समेत कोठाको व्यावस्था नभएको उहाँले बताउनुभयो । गाउँपालिकामा १७ जना कर्मचारी हुनुपर्नेमा हाल ८ जना कर्मचारी मात्र कार्यरत रहेको तथा एक जना वडा सचिवले ३÷३ वटा वडा कार्यालयको काम सम्पन्न गर्नुपर्ने हुँदा कुनै पनि वडाको कामकाज राम्रोसँग सम्पन्न गर्न नसकिएको जसबाट जनगुनासो बढ्दै गइरहेको समेत त्यस अवसरमा बताइएको थियो ।

निसीखोला गाएापालिकाले आर्थिक वर्ष २०७४÷०७५का लागि कुल वजेट २८ करोड, ३५ लाख ४६ हजार विनियोजन गरेको थियो जस्मा चालु तर्फको १३ करोड ८० लाख ४६ हजार (सशर्त बजेट समेत ) तथा पुँजीगत तर्फ १४ करोड ५५ लाख विनियोजन गरिएको थियो । आर्थिक वर्षको अन्तिम महिनासम्म आइपुग्दा गाउँपालिकाबाट चालु तर्फ खर्च ७ करोड ३३ लाख ६१ हजार तथा पुँजीगत तर्फको खर्च ः ५ करोड ८९ लाख ३५ हजार रहेको कार्यकारी अधिकृत वनेरुले बताए ।

प्रतिशतका हिसावले आँकलन गर्दा गाउँपालिकाको वजेट चालु तर्फको खर्च ५३.१४ प्रतिशत र पुँजीगत तर्फको खर्च प्रतिशतःः ४०.५० प्रतिशत अर्थात हालसम्मको खर्च ४६.६५ प्रतिशत रहेको छ ।

गाउँपरिषदबाट बनेका योजनाहरु गाउँपालिकामा झन्डै २ सय १० छन् । ति सबै योजनाको सम्झौता भई पेश्कि गएको र हालसम्म ५० योजनाको अन्तिम भुक्तानी भईसकेको छन् । करिब ५० योजनाको काम सम्पन्न भई प्राविधिक मुल्यांकन समेत भएकाले सम्बन्धित उपभोक्ता समितीलाई भुक्तानीका लागि गाउँपालिकामा बोलाईएको उनले बताए ।

गाउँपालकाको आर्थिक सहयोग तथा स्थानीय सञ्चार माध्यमहरु, सामुदायिक रेडियो परिवर्तन, सामुदायिक रेडियो ढोरपाटन तथा बुर्तिबाङ एफएमको सहजीकरणमा सम्पन्न भएको सार्वजनिक सुनुवाईमा गाउँपालिका अन्तरगतका सबै वडाका वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष प्रशासकीय अधिकृत, विषयगत कार्यालयका प्रमुखहरुलाई स्थानीय जनताले जिज्ञासा राखेका थिए ।

जिज्ञासा तथा प्रश्न राख्ने नागरिकहरुले कार्यालय व्यवस्थित हुन नसकेको, कार्यालयमा कर्मचारी अभाव भएको, योजना निर्माण तथा सम्पन्न गर्दा उपभोक्ता समिति गठनमा वडा अध्यक्षले आफ्ना मान्छे राख्ने गरेको, वडा अध्यक्षले सिफरिस दिन कार्यालयमा नभई आफ्नो घरमा बोलाउने गरेको, सरकारी जग्गा व्यक्तिले भोगचलन गर्दा गाउँपालिकाको भूमिका केहुने, विद्यालयमा दिइने अनुदान प्रक्रिया, जलाशययुक्त उत्तरगंगा हाइड्रो पावर निर्माणमा गाउँपालिकाको चासो तथा खानेपानी, सडक, विद्युत, स्वास्थ्य, सञ्चारसँगै लक्षित समुदायका लागि भावी कार्यक्रम वेरोजगार युवालाई स्वरोजगार बनाउने सन्दर्भका भावी निती कार्यक्रम, कृषि पशु क्षेत्रमा गाउँपालिकाको योजनाका विषयमा विभिन्न जिज्ञासा राखिएको थियो । जनताबाट आएका जिज्ञासाको गाउँपालिका प्रमुख, प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा विषयगत कार्यालयका प्रमुखहरुले जवाफ दिएका थिए ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष ईन्द्रबहादुर मल्ल, वडा नं. २ का वडा अध्यक्ष कुविर विश्वकर्मा, वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही, वडा नं. ४ का वडा अध्यक्ष टीका निधी पौडेल वडा नं. ६ का वडा अध्यक्ष सुर्यबहादुर घर्ति वडा नं. ७ का वडा अध्यक्ष तेजिन्द्र विक्रम कुवँर, लेखापाल भिमसेन थापा, शिक्षा शाखा प्रमुख टंक प्रसाद शर्मा, सचिवहरु विराज विश्वकर्मा, टिकाराज न्योपाने, रेडियो परिवर्तनका प्रवन्ध निर्देशक लोकेन्द्र सुनार रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, रेडियो बुर्तिबाङका योगेन्द्र विश्वकर्मा, राजनैतिक दलका तर्फबाट नेकपाका प्रम घर्ति, राष्ट्रिय जनमोर्चाका थम्मन घर्ति, इलाका प्रहरी कार्यालय झिवाखोलाका ईञ्चार्ज रिनबहादुर वैदवार लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षता, गाउँपालिकाका ना सु पुरुषोत्तम गौतमको स्वागत मन्तव्य तथा रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीको सहजीकरणमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply