कोपिला कंडेल, बागलुङ २०७५ असार ६ । जिल्ला ट्राफिक कार्यालय बागलुङले सवारी चेकजाचमा कडाई गरेको छ । जिल्लामा सवारी साधनको बढ्दो चाप संगै दुर्घटना बढ्दै गएकोले चेकजाचमा कडाई गरिएको ट्राफिक कार्यालय बागलुङले जनाएको छ । प्रहरीले बुधबार मात्र बागलुङ नगरपालिकाको बिभिन्न क्षेत्रबाट २३ वटा सावारी साधनको चेकजाच गरी कारबाही गरेको प्रहरी हवल्दार महेन्द्र बहादुर खत्रीले जानकारी दिए । बिना लाईसन्स र नियम बिपरीत संचालन गरिएको बस ट्याक्टर ट्रिपर मोटरसाईकल र स्कुटर लगायतका सवारी साधन माथि कारबाही गरिएको खत्रीले ईबागलुङलाई जानकारी दिए । २३ सवारी कारबाही बाट १८ हजार राजस्व संकलन भएको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालयका प्रमुख, यातायात कार्यालयका प्रमुख ट्राफिक प्रहरी प्रमुख लगायत सरोकारवालाहरुको हिँजो मंगलबार बसेको संयुक्त बैठकले जिल्लामा बिभिन्न प्रकारका सवारी दुर्घटना न्युनिकरणको ट्राफिक नियमलाई कडाईका साथ पालना गर्ने र गराउने निर्णय गरेको थियो । सोही नियम बमोजिम लाईसेन्स बिलबुक नभएका, उच्च गतिमा सवारी हाक्ने लगायतका सवारी साधनलाई कारबाही गरिछाडिएको ट्राफिक प्रहरी प्रमुख प्रनानि छब बहादुर घर्तीले जानकारी दिए ।