नगरपालिकाका सकरात्मक काममा समर्थन गर्ने दलीय प्रतिनिधिहरुको प्रतिवद्धता !
राम सुवेदी, बुर्तिवाङ २०७५ असार १० । समृद्ध नगरको परिकल्पना सहित ढोरपाटन नगरपालिकाको तेस्रो नगरसभामार्फत आर्थिक वर्ष २०७५÷०७६ को निति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ । ६९ बुँदे नीति तथा कार्यक्रममा नगरपालिकाले विकासमा जनसहभागीताका लागि नगर विकास अभियानदेखि विपद व्यवस्थापनका लागि नगर प्रमुख राहत कोष स्थापना गर्ने योजना अघि सारेको छ । त्यस्तै ढोरपाटन आफैले लगानी गरेर बुर्तिबाङको सेरामा ५ सय किलोवाट क्षमताका जलविद्युत निर्माण गर्ने, एक वर्षको अवधिमा नगरपालिकाका सबै वडामा सडक सञ्जालले जोडने, सबै वडामा एक वर्षकै अवधिमा शुद्ध खानेपानी व्यवस्थापन गर्ने महत्वपूर्ण तथा महत्वकाँक्षी योजनाहरु समेत अघि सारेको छ ।
नगर प्रमुख देवकुमार नेपालीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा पूर्वाधारहरुको निर्माणमा सडकलाई पहिलो प्राथमिकता दिइने उल्लेख छ । पाँच वर्षको दीर्घकालिन योजनामा नगरपालिकाका सबै सडकहरु नली सहितको ग्रावेलिङ सडक निर्माण गर्ने उल्लेख गरिएको छ । त्यससँगै ढोरपाटन उपत्यकासम्मको सडक स्तरउन्नती र नगरको रिङ रोडको परिकल्पना निति तथा कार्यक्रममा समेटिएको छ । पाँच वर्षमै नगरका मुख्य सडकहरु समेत कालोपत्रे गरिने उल्लेख गरिएको छ ।
यस्तै पर्यटकीय स्थलको प्रवद्र्धन तथा प्रचार प्रचार सहितको गुरुयोजना, संघ तथा प्रदेसरकारसँगको सहकार्यबाट भूमिको प्रकृति, उत्पादनशीलतामा जोड दिइने तथा “नगर प्रमुख वातावरण मैत्री कृषि वडा नमुना कार्यक्रम थालनी गरी प्राङ्गारिक कृषि तरकारी, माछा, मासु, आलु, दुग्ध जन्य पदार्थ तथा फलफुलका क्षेत्रमा स्थानीयको माग वमोजिम उत्पादन वृद्धि लर्ने लक्ष्य राखिएको छ ।
जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको खोजी र दीर्घ र खर्चिला ( मृगौला,क्यान्सर,कलेजो र मुटु ) रोगहरुवाट पीडित मानिसहरुलाई सरल ढङ्गले उपचारको खोजी र सहयोगको वातावरण निर्माण गरिने भनिएको छ नगरपालिकालाई सरसफाइ र सुन्दरता युक्त बनाउन “सुन्दर गाँउ टोल अभियान” का माध्यमबाट प्रत्येक घरलाई पुरस्कार प्राप्त गर्न क्रियाशिल वनाईने पनि निति कार्यक्रममा उल्लेख गरिएको छ ।
यसै गरि ढोरपाटन सालझण्डी राजमार्गलार्ई आर्थिक र विशेष पर्यटन क्षेत्रको संम्भाव्यता अध्ययन र ढोरपाटन उपत्यकामा निजी स्तर पार्क सहित सुविधा सम्पन्न तिन तारे होटल तथा पार्क र भ्यू टावर निर्माण गरी २५ वर्ष पछि नगरपालिकालाई नै सम्पूर्ण भौतिक संरचना फिर्ता गर्ने गरि जग्गा छुट्याई सार्वजनिक रुपमा उक्त कार्य अगाडी बढाउन प्रकृया शुरु गरिने भनिएको छ ।
स्तै नगरपालिकाको सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउन सेवाग्राही पहँुचलाई सरल एवं सहज बनाउने , सूचना प्रवाह, सुचना प्रविधिको अत्यधिक प्रयोग गरि, ई—गभर्नेन्सको प्रयोगबाट सेवाग्राही मैत्री संरचना निर्माण गर्ने, नगरलाई भष्ट्रचार उन्मुलन नगरका रुपमा स्थापित गराउन उल्लेख गरिएको छ ।
आगामी आथिक वर्षदेखि नगरपालिकामा नक्सा पास गरेरमात्र घर निर्माणमा जोड दिइने, राष्ट्रिय गौरवको आयोजना ढोरपाटनमा जलाशय युक्त जलविद्युत निर्माणमा जोड दिने, ढोरपाटनको पाखाथर, स्यालपाखे। काँग भूजी। मस र नवीलाई आलु पकेट क्षेत्र निर्धाण गर्ने, नगरपालिका भित्र वार्षिक ७ क्वीन्टल कोदो र ३ क्वीन्टल फापर उत्पादन गर्ने कृषकलाई प्रोत्साहन पुरस्कृत गरिने, वडा नं. २ को सिमलचौर, वडा नं. ३ को घोसाखानी, वडा नं. ५ को मस्ती, वडा नं. ७ को बोबाङ, सेरावाङ, वडा नं. ९ को पाखाथर भूजिमा एकीकृत वस्ती निर्माण गुरुयोजना बनाउने लक्ष्य अघि सारिएको छ ।
यस्तै बुर्तिबाङ बजारको चुरेलावासदेखि शेरासम्म नदी टतबन्धन गर्ने, नगरको सबै ९ वटै वडालाई नगर विकासको योजना अवधारणा अनुसार नयाँ शहर आयोजनाबीच समन्वय गरि कार्यक्रमहरु अघि बढाउने, अर्नाकोट, बुर्तिबाङ तथा बुर्तिबाङ कालापोल सम्मको केवुलकार, अर्नाकोट र सुव्जागाउमा पर्यटन होम स्टेको अवधारणा निति तथा कार्यक्रममा समावेश गरिएको छ । बुर्तिबाङको शेरा फाँटलाई चक्लावन्दी प्लटिङ कार्यलाई रोकी कृषि पकेट एरियाका रुपमा विकास गरिने उल्लेख छ ।
शिक्षाको गुणस्तर बृद्धिका लागि प्राथमिक तहका २८ विद्यालय, निमावि तहका ८ विद्यालय र मावि तहका ३ विद्यालयलाई छनौट गरि प्रति विद्यालय १÷१ जनाका दरले शिक्षक नगरपालिकाले नियुक्त गर्ने कार्यक्रम बनाइएको छ । यसै आर्थिक वर्षमा नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने छ भने, सबै वडामा खेलकुद मैदान निर्माण गर्ने लक्ष्य समेत अघि सारेको छ । नगरपालिकाको सबै वडामा पाँच वर्ष भित्र खरका छाना जस्तापाताले छाउने योजना अघि बढाइएको छ । यस्तै आर्थिक वर्षको श्रावण महिनादेख नै नगरपालिकाले एकीकृत सम्पक्ति कर लागनु गर्ने लक्ष्य समेत लिएको उल्ल्ेख गरिएको छ ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरुले समेत आ आफ्नो लिखित सुझाव बुझाएपनि नगर कार्यपालिकाले उक्त निति तथा कार्यक्रम तयार पारेको बताएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाले गर्ने हरेक सकरात्मक कार्यक्रमहरुमा हातेमालो गर्ने र समृद्ध नगरपालिका निर्माणमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा देशभक्त जन गणतान्त्रिक मोर्चाका गुञ्जबहादुर भण्डारी राष्ट्रिय जनमोर्चाका तुल्सी खरेल, नेपाली काँग्रेसका यामु पौवी, नेकपाका चन्द्र अर्यालले शुभकामना मन्तव्य राखेका थिए भने नगरपालिकाका प्रवक्ता दिपक थापाको स्वागत मन्तव्य र प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नगरसभामा पेश गरिएको निति तथा कार्यक्रम माथि आजै नगर कार्यापालिका सदस्यहरुबीच छलफल गरिएको छ ।
सो अवसरमा उपप्रमुख करमती पुनले आगामी बर्षको लागी २८ करोड ५३ लाख रुपैयाको बजेट नगरसभामा प्रस्तुत गरेपनि आगामी असार २४ गते बजेट विनियोजन गरिने जनाईएको छ ।
तस्वीर सौजन्य : टिकाराम भट्टराई ।