नारायण रिजाल, बागलुङ २०७५ असार १८ । जिल्लाका दश स्थानिय तह मध्ये बागलुङ नगरपालिका बाहेक नौं स्थानीय तह पूर्ण खोपयुक्त घोषणा भएका छन् । गत कात्तिकमा ढोरपाटन नगरपालिका पहिलो खोपयुक्त नगर बनेको थियो । त्यसयता, गल्कोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिका पूर्ण खोपयुक्त घोषणा भएका हुन् । जिल्ला सदरमुकाम स्थित बागलुङ नगरपालिका पूर्ण खोपयुक्त हुन केही ढिला भएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । बागलुङ नगरपालिका सँगै आगामी असार २५ गते जिल्लालाई नै पूर्ण खोप युक्त जिल्ला घोषणाको तयारी गरिएको छ ।
समितिका सदस्य सचिव एवम् जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारीका अनुसार बागलुङ नगरपालिकाका केही वडामा सर्वेक्षणको काम सकिएको छ । अब जिल्ला र नगरपालिका सँगै गर्ने योजना रहेको ईबागलुङलाई बताए ।
‘जिल्ला खोप समन्वय समितिले असार २५ गते बागलुङ नगरपालिका सगै जिल्लालाई नै पुर्ण खोप घोषणा गर्ने निर्णय गरेको छ । त्यसका लागी सवै पक्ष तयारीमा जुटीरहेका छन ।
अब कुनैपनि बालबालिका खोपबाट बञ्चित हुने छैनन्, जनस्वास्थ्य प्रशासक तिवारीले भने, जनस्वास्थ्यको क्षेत्रमा पूर्ण खोपयुक्त घोषणा सबै भन्दा प्रभावकारी कार्यक्रम हो ।
जिल्लामा पुर्ण खोप पाएका जम्मा बालबालिका ३९ सय ६ रहेको जिल्ला जनस्वास्थ्य कार्यालयकाले जनाएको छ । जसमध्ये सवै भन्दा बढि बागलुङ नगरपालिकामा ८ सय २६ र सवै भन्दा कम बरेङ गाउँपालिकामा १ सय २७ बालिबालिका रहेका छन ।
नगर र गाउँपालिकाका सबै बालबालिका खोपको पहुँचमा पुगेको सुनिश्चितता भए पश्चात पूर्ण खोपयुक्त घोषणा गर्ने गरिएको छ । बालबालिकाले खोप पाए नपाएको सुनिश्चित गर्न जिल्ला खोप समन्वय समितिसँगै नगर र गाउँस्तरीय समन्वय समितिले विभिन्न चरणमा सर्वेक्षण गर्ने गरेका छन् ।
घरधुरी सर्वेक्षण र नियमित अनुगमनबाट बालबालिका खोपबाट बञ्चित नभएको सुनिश्चित भएपछि मात्र पूर्ण खोपयुक्त नगर, गाउँ सँगै जिल्ला घोषणाको तयारीमा जुटेका छन । सम्बन्धित पक्षले आउँदा दिनमा पनि सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन प्रतिवद्धता गरेका छन् । जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका पदाधिकारी, सामाजिक अगुवा लगाएतले त्यस्तो प्रतिवद्धता गरेका हुन् ।
जिल्लाका कुनै पनी बालबालिकालाई खोप पाउनबाट बञ्चित हुन नदिनका लागी पुर्ण खोप अभियानले थप टेवा पुग्न जिल्ला समन्वय समितिका संयोजक एव खोप समन्व्य समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले बताए । ‘अहिलेपनि खोप पाउने उमेरका सबै बालबालिकाले खोप पाएका छन्, ढुंगानाले भने, आगामी दिनमा पनि खोपको सुनिश्चितता हुन्छ,।’ नगरपालिका स्तरमा नगर प्रमुख र गाउँपालिकामा अध्यक्षको नेतृत्वमा खोप समन्वय समितिहरु कृयाशिल रहेका छन । यसलाई दिगोपन दिनका लागी उहाँहरुको गहन भुमिका हुने छ ।
पूर्ण खोपयुक्त घोषणा भएका स्थानीय तहमा पोलियो, बिसिजी, हेप बी, डिपिटी, दादुला, रुबेला, टिटी, जेइ लगाएत ११ प्रकारका खोप सबै बालबालिकाले पाएको सुनिश्चिता गरिएको छ ।
घोषणा हुनुभन्दा आउँदा दिनमा पनि खोपको सुनिश्चिता हुनु घोषणा कार्यक्रमको मुख्य लक्ष्य हो । खोप नियमित रुपमा पाएको खण्डमा शिशु तथा बालबालिकालाई विभिन्न १० प्रकारका रोगबाट बचाउन सकिने स्वास्थ्यकर्मी बताउँछन् ।
जनस्वास्थ्य प्रशासक तिवारीका अनुसार नियमित खोपका कारण नेपालमा बाल मृत्युदर २५ प्रतिशतले घटेको छ । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नपरोस् र नियमित पाउनुपर्ने खोपको सुनिश्चितता होस् भनेर पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्ने गरिएको छ । बागलुङ पूर्ण साक्षर र खुल्ला दिसामुक्त जिल्ला यसअघि नै घोषणा भइसकेको छ ।