Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ को सार्वजनिक सुनुवाई ढोरपाटनमा सम्पन्न !

सुमन सुनार, ढोरपाटन २०७५ असार २३ । ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ को संयुक्त रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम ढोरपाटनमा सम्पन्न भएको छ । वडा नं. ९ को ढोरपाटनमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा दुई वटै वडामा चालु आर्थिक बर्षमा तर्जुमा गरिएका योजना तथा कार्यक्रम र विनियोजन गरिएको बजेटको हालसम्मको प्रगतिको बारेमा सर्वसाधारणलाई जानाकारी दिईएको थियो भने स्थानिय नागरिकले विनियोजित बजेट तथा योजनाहरुको विषयमा जिज्ञासा राखेका थिए ।

ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुन मगरको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. ८ का अध्यक्ष नन्दे सुनार, वडा नं. ९ अध्यक्ष हरि बहादुर घर्ति मगर, नगरपालिकाका लेखा अधिकृत तुलबहादुर विक, सचिव कमल कँडेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्थानिय नागरिकले विकास निर्माण तथा सेवा प्रवाहमा भैरहेका कमजोरीहरुप्रति आफ्ना विचार प्रस्तुत गरेका थिए । विषेश गरि ९० लाख बजेटको पश्चिम बागलुङकै चर्चित धार्मिक स्थल उत्तरगंगा ढोरबराह मन्दिर परिसरमा लगाईएको घेराबारको अवस्थाको बारेमा आफ्ना जिज्ञासा राखेका थिए । त्यसैगरि वडा स्तरका वस्तीहरुमा खानेपानीको समस्या, सड्क, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा रहेका समस्या समाधानमा जनप्रतिनिधिको ध्यान जान नसकेको गुनासो गरेका थिए भने चालु आर्थिक वर्षमा लक्षित वर्ग तर्फको बजेट विनियोजन नहुनुको कारण र ढोरपाटनलाई आलु उत्पादनको पकेट क्षेत्र निर्माणका लागी जनप्रतिनिधिको आगामी योजनाका विषयमा समेत जिज्ञासा राखेका थिए ।

यस्तै वडामा सञ्चालित अन्य योजनाहरुको कार्य सम्पादनमा भएका कमजोरीहरु, उपभोक्ता समिति गठन प्रक्रिया, स्थानिय तहमा आवश्यक कानुन निर्माण र न्यायिक समितिको विषयमा स्थानिय नागरिकले आफ्ना जिज्ञासा तथा गुनासा राखेका थिए ।

नागरिकको जिज्ञासा र गुनासोको विषयमा सम्वन्धीत वडाका वडा अध्यक्षहरु सहित योजनाका उपभोक्ता समितिले जवाफ दिएका थिए । वडाअध्यक्षहरुले स्थानीयहरुको गुनासो सम्बोधन हुने गरि आगामी योजना निर्माण गर्ने प्रतिवद्धता जनाएका छन । वडाका जनताको जिज्ञासा र गुनासोको विषयमा जवाफ दिदैँ वडा नं. ९ वडा अध्यक्ष घर्तीले खानेपानीको समस्या समाधानका लागी वडा स्तरका बस्तीमा २ बर्ष भित्र एक घर, एक धारा निर्माण गरिने पनि त्यस अवसरमा जानकारी दिए ।

त्यसैगरि स्थानिय तहमा आवश्यक कानुन निर्माण र न्यायिक समितिको विषयमा नगर उप–प्रमुख करमती पुन, प्रशासकिय काम र सेवाका विषयमा सचिव कमल कँडेलले जवाफ दिएका थिए ।

उक्त कार्यक्रमको बुर्तिबाङ स्थित ३ वटा सञ्चार माध्यमहरु सामुदायिक रेडियो परिवर्तन, सामुदायिक रेडियो ढोरपाटन र रेडियो बुर्तिबाङले संयुक्त रुपमा सहजिकरण गरेको थियो ।

कार्यक्रममा दुई ओटै वडाका वडा सदस्यहरु, उपभोक्ता समितिका पदाधिकारी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजिवि, सरोकारवाला, पत्रकार लगायतको उपस्थीती रहेको थियो । कार्यक्रमको सञ्चालन भने सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply