Sorry, that menu does not exist.
 

नेपाली काँग्रेसका युवा नेता पौडेल पार्टीको आमन्त्रिक केन्द्रिय सदस्यमा मनोनित !

बागलुङ २०७५ असार २६ । नेपाली काँग्रेसका युवा नेता किरण पौडललाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले असार २५ गते सोमवार आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित गरेका छन् । बिद्यार्थी जीवन देखी नै नि:स्वार्थ भावले एक ईमान्दार कार्यकर्ताको रुपमा नेपाली काँग्रेसमा समर्पित पौडेलको मनोनयनले यस क्षेत्रका पार्टी कार्यकर्ताहरु निकै उत्साहित बनेको पार्टी श्रोतले बतायो ।

उनी कहिल्यै पदका लालची देखिएनन् तापनि यतिबेला अध्यक्ष देउवाले आमन्त्रित केन्द्रिय सदस्यमा मनोनयन गरेर पौडेलको कदर गरेका छन र उनको यस कार्यले आम पार्टी पङ्तीमा सकारात्मक प्रभाव परेको बिश्लेषण गरिएको छ ।

गत वर्ष सवारी दुर्घटनामा परी भाग्यले बाँचेका पौडेलसंग उनले पार्टीमा रहेर गरेको कामको उचित कदर र मुल्यांकन भएनकि भन्ने मनसायले ईबागलुङले के का लागी राजनीति ? भन्ने प्रश्न गर्दाे मैले त्यागको व्याज खोज्न राजनीति गरेको होईन भन्ने सटिक जवाफ दिएका थिए र आफ्नो बिगतलाई यसरी स्मरण गरेका थिए, जुन यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ :

२०२३ साल माघ १० गते बाग्लुङ ,बलेवाको एक निम्नमध्यम बर्गीय परिवारमा जन्मिएको हुँ । पिताजी समाजसेवी हुनुहुन्थ्यो अनि अध्ययनले शास्त्री सम्म पढेको पण्डित । मेरो हजुरबा ,पिताजीको पुर्खौली घर, त्यही मेरो घर आज सम्म बाग्लुङकै पैयुपाटा, सातबिसे गाउँमै छ ।

पिताजी २००७ सालको क्रान्ति पछि समाज सुधारक आन्दोलमा लाग्नुभएको रहेछ । सात सालमै आफ्नो काम गरेर सानो भइदैन ” आफ्नो हलो आफै जोतौ” भनेर हलो जोत्ने कामको सुरुवात गर्नुभएको रहेछ । पिताजीले हलो जोतेपछी हाम्रा नातागोता सबैले “-हलो जोता पण्डित भनेर हामिले छोएको नखाने, बहिस्कार गर्ने सम्मको घटना भएको रहेछ । हजुरबाका पालादेखी नै गाउँमा कसैलाइ अन्याय पर्‍यो भने पण्डितकोमा गए न्याय पाइन्छ भनेर आउने मानिसहरुले घरमा जतिखेर पनि कचहरी भैरहन्थ्यो रे। हजुरबाका बेलादेखिनै कुनै दिन कोहि पाहुना नआउदा अचम्म हुन्थ्यो भन्नुहुन्थ्यो हजुर आमाले ।

पिताजीले बाग्लुङको दक्षिण भेकमा २००७ सालदेखिनै,पाठशाला,हुलाक,औषधालय,झोलुङ्गे पुल, बिमानस्थल बनाउने जस्ता सामाजिक कामको अग्रणि नेतृत्व गर्नुहुन्थ्यो । शैक्षिक ,सामाजिक र राजनितिक क्षेत्रमा पिताजीको रुचि थियो । म सानै छँदा पनि हाम्रो घरमा पिताजीका साथिहरु कांग्रेसका थुप्रै अग्रजहरु आउनुहुन्थ्यो । पाहुना लाई राति राती उठेर खिर र आलुको तरकारी पकाएर खुवाएको अझै याद आउदछ। अग्रज नेता पाहुनाले म सुत्ने कोठामा बीपी कोइरालाको फोटो देख्दा खुशी हुँदै राजनितिक गफ सुरु गर्नुहुन्थ्यो । रातीसम्म राजनीतिका गफ गर्दै बस्नुहुन्थ्यो त्यो राजनीतिक कुराले मेरो मस्तिष्कमा गहिरो छाप बसेको थियो । हाम्रो पिताजीको प्रभावले गाउँमा सबै कांग्रेस समर्थक हुनुहुन्छ , मलाइ पनि प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुन पुलिसको पिटाइ खादा पनि नदुख्ने र जेल बस्न सम्मको प्रेरणा गाउँ समाजको हो ।

२०३५-३६ सालको आन्दोलन हुँदा म गाउँकै त्रिभुवनमाबि स्कुलमा पढ्थें । सरकारि स्कूल भएकाले त्यहाँ राजनीतिक गतिविधि हुने गर्थ्यो । हामी पढ्ने बेला स्वबियुको चुनाब भएको थियो । २०४० सालमा आइएस्सी पढन चितवनको बीरेन्द्र क्याम्पसमा पुगे पछि कांग्रेसी राजनितिको अखडा गैंडाकोटमा मेरो डेरा थियो । पिताजीका अनन्य मित्रहरुको न्यानो माया र संरक्षण पाएपछि दिनदिनै आन्दोलनका कुरा सुन्नुपर्ने, लुकिछिपी भेट्घाट, छलफल र बैठक हरुमा बस्ने त्यस्तै गतिविधीहरुमा पनि मेरो रुची बढदै गएको थियो । त्यसमाथि मेरो सक्रियता २०४२ सालको सत्याग्रहमा एकदिन र रातभर थुनिएर छुटेपछि भएको थियो । त्यति बेलानै म (प्र.) कांग्रेस बन्ने र बिभिन्न राजनीतिक दलका विद्यार्थी भातृ संगठनका कृयाकलापलाई बुझ्ने अबसर पाँए ।

पछि २०४५ सलमा त्रिचन्द्र क्याम्पसमा विएस्सी पढदै गर्दा मेरो मन भित्र एउटा कुरा खेली रहन्थ्यो । अब्बल विद्यार्थीहरु राजनीतिमा लाग्नु हुन्छ वा हुदैन ? पञ्चायती ब्यबस्था थियो ,कठिन अबस्था हुदाहुदै शैक्षिक माग राखेर त्रि बि का भिसी घेराउमा बस्दै गर्दा राती पक्राउ परियो । हनुमान ढोकाको प्रहरी हिरासत पार गर्दै केन्द्रीय कारागारमा चैतदेखि साउन सम्म बस्नु पर्‍यो । जेल भित्रै बस्ने बेला चीनको तियानमेन चोकको प्रजातन्त्रका लागि भएको आन्दोलन र मैले सम्पादन गरेर निकाल्ने भित्ते पत्रीका “सदर मेल-जेल पात्रो ” अनि त्यो बेलामा सगै खाने र सगै सुत्ने, विद्यार्थी राजनीति गर्न क्याम्पसका क्यन्टिनमा चिया पिउदै बर्सौ सम्म हिड्दा साथिभाइको संगतले राजनितीक लत बढदै गयो । २०४५ सालमा स्ववियू निर्वाचनमा नेविसंघबाट स्ववियु सदस्य जिते पछि मेरो राजनिती यति गहिराइमा पुगेछ कि पत्तै भएन । । सगै पढ्ने दौतरीहरु कोहि इन्जिनियर पढ्न हिडे,कोहि डाक्टर पढ्न कोहि अमेरिकालगायतका देशहरु पुगे । आइएस्सी पास गरेको अब्बल बिद्यार्थी भएपनि आफू भने (प्र.)नेपाली कांग्रेसको कार्यालय जमल जाने बानी बस्यो । प्रजातान्त्रिक आन्दोलन गर्ने बहुदल ल्याउने , देश सम्पन्न र समृद्धि बनाउने भन्ने गफ सुनेर मख्ख पर्दै नेपाली कांग्रेसको सम्मेलन स्थल, चाक्सिबारी, क्षेत्रपाटीको आगनमा पुगियो ।

२०४६ साल माघमा शुरु भएको सम्मेलनले फागुन ७ देखि जन-आन्दोलन गर्ने भनेपछी नेबि संघका खातापाता देखि पार्टीका गोप्य लुकाउन पर्ने सबै मेरो कोठामा राख्ने अबसर दिनुभयो नेताजीहरुले । डेरा दुइवोटा चाइने भयो, बागबजार मै अर्को डेरा खोजे, गैंडाकोटको घडेरी बेचेको पैसा टन्न थियो । १०-८ जनालाइ भात खुवाउन पनि दुख थिएन । साथिभाइ मिलेर बसियो, मेस चलाइयो दाल भात खाइयो, आन्दोलन गरियो ।

२०४६ सालको जन-आन्दोलनको बेलाको समर्पित बन्न पाएकोमा धन्य सम्झिन्छु । त्यो बेलामा मैले गरेको साहसिक योगदान ब्यबस्था परिबर्तन गर्न ,राजनितिक अधिकार बहाली गर्न, नेपालीलाइ रैती बाट नागरिक बनाउन गणेशमान मन्त्र सुनेर गरेको थिए । म आफू सफल भए ,देश सफल भयो । २०४६ सालमा नै त्रिचन्द्र क्याम्पसमा नेबि संघको अध्यक्ष बन्न पाए । पछि नेबि संघमा केन्द्रीय सदस्य हुँदै महामन्त्री सम्म बन्ने मौका मिल्यो । २०५१ सालमा नेपाली कांग्रेस बाग्लुङको जिल्ला सदस्य हुँदै २०६० साल देखि महासमिती सदस्य रहदै आएको छु ।

राजनीति भनेको पाउने र कमाउने व्यवसाय बनाउन म लागेको होइन । कत्तिले यसलाई यही रुपमा बुझेका पनि होलान । तर म यहाँ एक्कासी आइपुगेको पनि होइन, धेरै कुरा त्याग गर्न सकेको हुनाले आएको छु । त्यागको ब्याज खान राजनितिमा लागेको होइन । मलाइ अध्ययन गर्न सक्नु हुन्छ । सुखदुःख साथदिन सदा तत्पर रहिरहेको छु, एक बर्ष अगाडि राजनितिक कामकै सिलसिलामा गैंडाकोट सम्मको यात्रा गर्दा गम्भीर दुर्घटना बाट बचेको छु, पुनर्जन्म पाएकोमा धन्य छु ।

मैले राजनीतिमा लागेर धेरै गुमाएको छु । मैले आफ्नो उर्वरा उमेर सगै व्यक्तिगत जीवन गुमाएकोछु । सधै पार्टी, संगठन, भन्दा भन्दै आफ्नो पारिवारलाइ समय दिन सकेको छैन । महत्त्वपूर्ण जग्गा जमिन बेचेर चलेको छु, इस्टमित्र,साथी भाइहरुको माया,स्नेह र सहयोग पाइरहेको छु त्यसैले आज सम्म सगौरब बाच्न सकेको छु । आजका दिन सम्म राज्यसत्ताको नामबाट एक रुपैयाँ सेवा, सुबिधा लिएको छैन । २०४७ सालमा बिएस्सी, २०४९ सालमा ब्यबस्थापन बिसयमा मास्टर्स गरेको हु । सगै पढेका साथी भाइहरु निजामती सेवा मन्त्रालयको उच्च तह देखि बिदेशी सेनाको अफिसर भै रिटायर्ड भैसकेका छन । म निरन्तर र अबिचलित प्रजातान्त्रिक समाजबादी राजनितिमा लागेको छु । आफ्ना अग्रजहरुलाइ नियालेर हेरेको छु, नयाँ पिढिले आदर्शलाई अगाल्न हामिलाइ हेर्न आग्रह गर्दछु ।

जयनेपाल !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply