रबिना बोहरा, बागलुङ, २०७५ असार ३२ । एकता सहकारी संस्था लिमिटेड बागलुङले संस्थाको २० औँ स्थापना दिवसका अवसरमा मोबाईल बैँकिङ सेवा शुभारम्भ गरेको छ । सहकारीले हरेक शेयर सदस्यलाई मोबाईलबाटै मौज्दात सोधपुछ, मिनी स्टेटमेन्ट, ब्यालेन्स ट्रान्सफर, मोबाईल रिचार्ज, पानी बिजुलीको बिल भुक्तानी एवं कार्डलेस एटिएम सेवा प्रदान गर्ने बताएको छ ।
संस्थाका शेयर सदस्यहरुलाई वित्तीय क्षेत्रमा सहज रुपमा सेवा उपलब्ध गराउने योजनाका साथ संस्थाले मोबाइल बैकिङ सेवा सञ्चालन गरेको र छिटै एटिएम सेवा समेत सञ्चालन गर्ने प्रवन्धक दिपक राजभण्डारीले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांंसद साबित्रा रानाले सहकारीले शेयर सदस्यहरुलाई दिने सेवा सुविधा बढाउदैँ लगेमात्र सदस्यको संख्या बृद्धि गर्न सकिने बताउदै सहकारीले ल्याएको नीतिले आगामी दिनमा समृद्धीको बाटोमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने भन्दै उनले आर्थिक विकासको मेरुदण्डका रुपमा सहकारी रहेकाले सहकारीकर्मीहरुको हक हितका लागि पनि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बागलुङको सहकारी अभियानलाई प्रभावकारी भूमिका निर्वाह गरेको एकता सहकारी संस्थाका गतिविधिलाई अन्य सहकारीहरुले समेत अनुशरण गर्ने भएकाले सहकारीका मूल्य मान्यता, आदर्श, सिद्धान्त र सहकारी ऐन ततथा नियमावलीहरुको पालना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, संस्थाका संरक्षक देबबहादुर श्रेष्ठ, पद्मचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य संगम घर्ति मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सहकारीले एप्लाष्टिक एनिमिया रोगबाट ग्रसित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष बिजय रानालाई २ हजार रुपैँया प्रदान गरेका थिए । कार्यक्रम एकता सहकारीका अध्यक्ष धु्रवप्रसाद शर्माको अध्यक्षता र सचिव महेश प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।