म्याग्दी, २०७५ साउन १ । बेनी नगरपालिका वडा नं. ६ वडा कार्यालयले सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीलाई मंगलवार सम्मान गरेको छ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङमार्फत प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्पादक समेत रहेका जिसी सहित बेनीमा कार्यरत २ जना पत्रकार र एक जना प्राविधिकलाई वडा कार्यालयले सम्मान गरेको छ ।
वडामा निर्वाचित भएको १ वर्षको समयमा पटक पटक वडाका महिला तथा विपन्न वर्गका जनतालाई सहकारी सचेतना, वित्तीय साक्षरता, उद्यमशिलता लगायतका विषयमा उत्प्रेरित गरी वडाको विकासमा योगदान गरेकोले जिसीलाई सम्मान गरिएको वडा अध्यक्ष कृष्ण बाँनियाले बताए ।
वडावासीलाई सहकारी र व्यवसाय प्रवद्र्धनका लागि जनचेतना प्रदान गर्न निरन्तर साथ दिने तथा आयआर्जनका लागि उत्प्रेरित गर्ने कार्यले हामीलाई प्रभावित बनाएको छ, उनले हाम्रो वडा मात्रै होइन, देशभरका अति दुर्गम र पिछडिएको क्षेत्रमा पुगेर सहकारीमार्फत समाज रुपान्तरणमा गरेको योगदानको कदर स्वरुप सम्मान पत्रले सम्मान गरिएको उनले बताए ।
कार्यभार सम्हालेको एक वर्षमा बेनी नगरपालिकाले करिव ६ सय जना महिला तथा विपन्न वर्गका जनतालाई सहकारी सचेतना, वित्तीय साक्षरता, आयआर्जन र व्यवसाय प्रवद्र्धन लगायतका तालिमहरु सञ्चालन गरेको छ ।
साढे दुइ दशक देखि सहकारी अभियानमा क्रियाशिल जिसीले ग्रामिण क्षेत्रका सहकारीहरुको प्रवद्र्धनका साथै सहकारीका सदस्यहरुलाई सहकारीको महत्व र सहकारीमार्फत गर्न सकिने व्यवसायका बारेमा निरन्तर सहजीकरण गर्दै आउनु भएको छ ।
सहकारी मार्फत सञ्चार र स्वास्थ्य सेवामा सक्रिय जिसीले सहकारीलाई प्रभावकारी बनाउन र त्यसमार्फत समाज रुपान्तरण गर्न सबै भन्दा पहिला सहकारी अवधारणामा स्पष्ट हुनु पर्नेमा जोड दिए ।
बेनी बजारमा आयोजित कार्यक्रममा वडाका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चारमाध्यममार्फत जनताका बीच लैजान सहयोग गरेको भन्दै बेनीमा कार्यरत पत्रकारहरु ध्रुवसागर शर्मा र सन्तोष गौतमलाई सम्मान गरिएको थियो ।
यस्तै वडाको विकास निर्माण कार्यमा सक्रियताका साथ योगदान गरेको भन्दै बेनी नगरपालिकाका ओभरसियर हरि आचार्यलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरुलाई बेनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा नगरकार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइली र वडा नं. ६ का अध्यक्ष कृष्ण बाँनियाले सम्मान गरेका थिए ।
सम्मानितहरुलाई वधाई ज्ञापन गर्दै बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले समाज रुपान्तरणका लागि सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रम वडा नं. ६ का अध्यक्ष बाँनियाको अध्यक्षता, वडा सदस्य दयासागर शर्र्माको स्वागत र वडा सचिव सगुन कसजुको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच बेनी नगरपालिका वडा नं. ६ वडा कार्यालयले साउन १ गतेदेखि लागु हुने गरी बिहानदेखि दिउसो ४ बजेसम्म मदिराको विक्री वितरणमा बन्देज लगाउने निर्णय गरेको छ । तोकिएको समयमा मदिरा खरिद विक्री वा सेवन गरेको पाइएमा कानुन अनुसार कार्वाही गर्ने निर्णय वडा समितिले गरेको छ ।
समाजमा मदिराका कारण थुप्रै समस्या सिर्जना हुदै गएकाले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि मदिरा नियन्त्रणको अभियान थालिएको अध्यक्ष बाँनियाको भनाइ छ ।
वडा क्षेत्रमा बिवाह, ब्रतबन्ध, चाडपर्व, सार्वजनीक बिदा, मृत्यु कार्य बाहेकको समयमा बिहान देखि बेलुकी ४ बजेसम्म मदिरा र सुर्तीजन्य पदार्थको बेचबिखन तथा सेवन गर्न प्रतिबन्ध लगाएको छ ।
१८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरुलाई सुर्ती र मदिरा जन्य पदार्थ बेचबिखन गर्न नपाइने र नियम उल्लङ्घन गर्नेलाई नियमनकारी निकासमा कारबाहीका लागि पठाउने निर्णय गरेको वडाले निर्णयका बारेमा नगरपालिका, प्रशासन र प्रहरी कार्यालयमा जानकारी गराएको छ ।