Sorry, that menu does not exist.
 

गल्कोट प्राथमिक स्वास्थ केन्द्र नामको मात्रै : न डाक्टर, न औषधी, न राम्रो उपचार, न राम्रो ब्यवस्थापन !

स्वास्थ्य क्षेत्रको नीतिगत त्रुटिकै कारण स्वास्थ अवस्था कमजोर बन्दै गएको छ- नगरप्रमुख गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ साउन ४ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले स्वास्थ क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।

गल्कोट प्राथमिक स्वास्थ केन्द्रको सामाजिक परिक्षण कार्य अन्तर्गतको आमभेला कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गैरेले स्वास्थ्य क्षेत्रको नीतिगत त्रुटिकै कारण स्वास्थ अवस्था कमजोर बन्दै गएको भन्दै स्वास्थ क्षेत्रलाई प्रभावकारी बनाउनका लागी ब्यवस्थापकीय पक्ष, स्वास्थकर्मी र जनताहरु उत्तरदायी बन्नुपर्ने बताए ।

गैरेले गल्कोट नगरपालिका भित्रको स्वास्थ क्षेत्रको बिकासका लागी प्रत्येक स्वास्थ्य संस्थालाई अभिभावक स्वास्थ केन्द्रको रुपमा स्थापित गर्ने बताए । उनले गल्कोटमा कार्यरत स्वास्थ स्वयम् सेबिकाले स्वास्थ क्षेत्रको सेवालाई प्रभावकारी बनाउन खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै प्रंशंसा ब्यक्त गरे । स्थानिय तह गठनसंगै सबै क्षेत्रको विकासको लागि चुनौती र समस्या रहेके भन्दै चुनौतीको सामना गरेर अगाढी बढ्नु अहिलेको आबश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले स्वास्थ क्षेत्र मानिसको प्रमुख आवश्यक भएको भन्दै यसको नगरपालिका भित्रका स्वास्थ क्षेत्रमा औषधी, स्वास्थ सामाग्रीको ब्यवस्थापनका लागी नगरपालिकाले आवश्यक भुमिका खेल्ने बताए ।

कार्यक्रमका अवसरमा स्थानिय सोम बहादुुुुर पुन, गणेश श्रीस, कमला श्रीस, हिरा बहादुर थापा मगर, कलि खत्री, देबेन्द्रसिह बस्नेतले लगायतले गलकोट प्राथमिक स्वास्थ केन्द्र सँगै स्वास्थ बिमा कार्यक्रम र गल्कोट नगरपालिका भित्र भएका स्वास्थ सस्थाबाट पाउने सेवा सुबिधाका बिषयमा आफ आफना जिज्ञासा तथा गुनासो ब्यक्त गरेका थिए ।

सो अवसरमा बोल्ने बक्ताहरुले गल्कोट प्राथमिक स्वास्थ संस्था नामको मात्रै भएको, एम्बुलेन्स सञ्चालन प्रभावकारी नभएको, बिमा कक्षमा तालिमप्रात्त ब्यक्तिको अभाव, बिमा गर्दा पाउने औषधीहरु कागजमा उल्लेख भए पनि स्वास्थ केन्द्रबाट पाउन नसकिएको, बिमा गरे पनि औषधि किनेर खानु परेको, भनेको समयमा स्वास्थ केन्द्रमा डाक्टरहरु नभेटिने, ब्यवस्थापन समिति फेरिए पनि सेवा प्रभावकारी बन्न नसकेको, औषधीको नाम लेखिने तर केन्द्रमा नहुने, काममा ढिलासुस्ति हुदाँ निजी स्वास्थ क्लिनिकमा जान बाध्य, जापान सरकारले उपलब्ध गराएका स्वास्थ सामाग्रीहरु प्रयोग गर्ने डाक्टरको अभाव, स्वास्थ सामाग्रीको अभाव लगायतका बिषयमा आफ आफना गुनासो, जिज्ञासा ब्यक्त गरेको हुन । कार्यक्रममा उठेका गुनासोलाई नगरप्रमुख गैरे, प्रमुख प्रशासकीय अधिकृत गौतम, प्राथमिक स्वास्थ केन्द्रका प्रमुख, सामुदायीक सेवा केन्द्रका प्रमुख लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेकपाका फमलाल न्युरे, नेपाली काग्रेसका नर बहादुर थापा, बिमा प्रतिनिधि नारायण पौडेल र गल्कोट प्राथमिक स्वास्थ केन्द्रका डाक्टर दिपेन्द्र प्रधान लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सो अवसरमा आयोजक संस्था गल्कोट सामुदायीक सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसेले आर्थिक बर्ष २०७३, ०७४ को प्रगति तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन् । जसमा गलकोट प्राथमिक स्वास्थ केन्द्रको आम्दानी तर्फ १४ लाख ७२ हजार ६ सय ५ र खर्च तर्फ ११ लाख ४ हजार ३ सय ५ रहेको बताएकी थिईन् । त्यस्तै २०७३, ०७४ मा एम्बुलेन्स सेवाबाट आम्दानी ३ लाख ७० हजार ७ सय १ र खर्चतर्फ ३ लाख ६८ हजार ५ सय ९ रहेको जानकारी गराईन् । चालिसेले आर्थिक बर्ष २०७३, ०७४ मा गलकोट नगरपालिका भित्रका सम्पुर्ण स्वास्थ सस्थाहरुबाट गरि ७५ जना महिलाले निशुल्क प्रसुति सेवा लिएका छन भने ४५ जना महिलाले चारपटक गर्भवती जाँच गराएको बताईन् ।

त्यस्तै स्वास्थ संस्थाहरुबाट बिबिध सेवा गरि महिला २ हजार ६ सय ४० र पुरुष २ हजार ६ सय ७५ गरि जम्मा ५ हजार ३ सय १५ जनाले सेवा लिएको कार्यक्रममा जानकारी दिएकी थिईन । कार्यक्रमलाई जिल्ला जनस्वास्थ कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ । कार्यक्रम गल्कोट प्राथमिक स्वास्थ केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष नारायणध्वज मल्लको अध्यक्षता, सदस्य योगेश भण्डारीको स्वागत मन्तब्य र प्रकाश शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply