रबिना बोहरा, बागलुङ, २०७५ साउन ६ । बागलुङ नगरपालिकाको कार्यालय बागलुङले धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन प्रति शोक व्यक्ति गर्दै एक दिन नगरपालिकाबाट प्रवाह गर्ने सेवा बन्द गरेको छ । नगरपालिकाको १४ वटा वडाबाटै प्रदान गर्ने सेवा बन्द गरेको हो । ५२ बर्षीय सुब्बाको उपचारको क्रममा काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा निधन भएको थियो । सुब्बालाई फोक्सोमा निमोनियाको संक्रमण भएको थियो ।
नगरपालिकाले कार्यालयमा नै सुब्बाको निधन प्रति श्रद्धाञ्जली सभाको आयोजना समेत गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले विकास र समृद्धिको कार्यमा महत्वपुर्ण भुमिका खेल्नुभएका सुब्बाको निधनले समाजमा अपुरणीय क्षति पुगेको बताए । सुनसरीमा लामो समय नेकपा एमालेको पार्टी प्रमुख एवं जनप्रतिनिधि भएर काम गर्नुभएका सुब्बालाई आर्थिक अपचलन वा अनियमितता गरेको भनेर कसैले औंल्याउन नसक्ने उनको भनाई थियो । जीवनको सम्पूर्ण उर्जाशील समय राजनीति मार्फत निरन्तर जनसेवामा समर्पण गरेका तारा सुब्बाबाट समाजले सिक्नुपर्ने धेरै कुराहरु रहेको पनि उनले बताए । करिव चार दशक राजनीतिमा सक्रिय तारा सुब्बा निडर, नझुक्ने र जनताको काममा समर्पित, एवं कुशल संगठकको रुपमा परिचित थिए ।
गत वर्ष तत्कालिन नेकपा (एमाले)बाट सुब्बा २० हजार भन्दा बढी मत ल्याएर धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । तेह्रथुमको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका सुब्बा पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय थिए ।
कार्यक्रम बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलको अध्यक्षता र सुचना अधिकृत युक्तप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नगरपालिकाले दैनिक सेवा प्रवाह ठप्प पारेकाले सेवाग्राही भने मर्कामा परेका थिए । दिउसोको समयमा हिडेर नगरपालिका पुग्दा काम नभएपछि फर्कनुपरेको कतिपय सेवाग्राहीको गुनासो थियो ।