बागलुङ २०७५ साउन ८ । बालचन्द्र शर्मा, साबिक भकुण्डे गाविस वडा नं ९ गलुवा पुछार निवासी पूर्व निजामती कर्मचारी (खरीदार) हुन् । उनको उमेर अहिले ८० वर्षको छ । उनी महिनाको एक पटक पेन्सन बुझ्न सदरमुकाम बागलुङ बजार आउने गर्छन् ।
सदरमुकाम आउँदा जिल्ला प्रशासन कार्यालयमा नयाँ प्रमुख जिल्ला हिअधिकारी आएको थाहा पाए भेट्नै पर्ने उनको बानी छ ।
उमेरले ८० काटे पनि उनको कुरा गर्ने शैली र कर्मचारी कालको अनुभव सुनाउने पारा निकै रसिलो छ । अन्चलाधीशहरुसंग काम गर्दाको अनुभव निकै रमाईलो संग प्रस्तुत गर्ने उनको शैलीले उनको अभिव्यक्तिमा मिठास झल्कि रहेको हुन्छ र सुनौँ सुनौँ लागि रहन्छ ।
आज विहान हाम्रो भेट भयो । पेन्सन लिन आउनु भएको हो ? भनेर सोद्धा उनले हिँजै बुझेँ भन्ने जवाफ दिए ।
पेन्सन कति बुझ्नु हुन्छ ?
सुरुमा जम्मा अठार सय रुपयाँ थियो, अहिले बढेर महिनामा १५ हजार रुपयाँ बुझ्छु ।
नयाँ प्रमुख जिल्ला अधिकारीलाई भेट्नु भयो त ?
हिँजो नै भेटेँ । आफुले ३८ वर्ष काम गरेको कार्यालयमा नयाँ प्रशासक आएको थाहा पाएपछी मलाई भेटौँ भेटौँ भै हाल्छ । हिँजो दिउसो कार्यालयमा गएर पूर्व कर्मचारी आएको छु भनेर खबर पठाएपछी मलाई भित्र बोलाउनु भयो र निकै लामो कुराकानी गरियो ।
के के कुरा गर्नु भयो त ?
तत्कालीन प्रशासक (अन्चलाधीश)हरु संग जिल्ला घुम्न जाँदा उनिहरुले ठाडो उजुरी सुनेर अन्याय गर्नेहरुलाई यस्का बंगरा फुकाल्दे, यस्का खुट्टा भाँच्दे जस्ता गाली गर्ने गरेको अनुभव सुनाएँ, निकै रुचिपूर्वक सुन्नु भयो । त्यतिबेलाको प्रशासनिक शैलीका बारेमा जानकारी लिन खोज्नु भयो ।
अहिलेको प्रशासकले पूर्व खरिदार (कर्मचारी) संग जुन आत्मिय व्यवहार देखाउनु भयो त्यस्ले मलाई निकै राम्रो प्रभाव परेको छ । मेरो घरको पूरा ठेगाना टिपेर राख्न लगाउनु भयो । मेरै साथमा बसेर फोटो खिच्नु भयो, जुन सम्मान मलाई अहिलेको सिडियो साहेबले दिनु भयो, त्यो बिर्सी नसक्नुछ ।
त्यसो भए सिडियो साहेबलाई भेटेर मख्खै हुनुहुन्छ हैन त ?
मख्खको कुरा होईन कि, सिडियो साहेबले ३८ वर्ष सेवा गरी २०५५ सालमा पेन्सनमा निस्केको पूर्व खरीदार सरहको म बृद्धप्रति हिँजो जुन आत्मियपन देखाउनु भयो, मलाई जुन सम्मान दिनु भयो, त्यो त बिर्सने कुरा भएन नि !