Sorry, that menu does not exist.
 

सिम्रिक कृषि सहकारीको ५ वर्षे रणनीति योजना : स्वावलम्बी कृषक, संस्थाको मुल लक्ष्य !

बागलुङ, २०७५ साउन १३ । सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङले आगामी ५ वर्षका लागि रणनीतिक योजना तयार पारेको छ । शेयर सदस्यहरुलाई स्वालम्बी कृषक बनाउने प्रमुख लक्ष्यका साथ ५ वर्षे रणनीतिक योजना तयार गरिएको संस्थाले जनाएको छ ।

संस्थाका सञ्चालक, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुको समेतको उपस्थितिमा शनिवार आयोजित वार्षिक प्रगति समिक्षा तथा पञ्चवर्षीय दीर्घकालिन रणनीतिक योजना तयारी गोष्ठी गरी योजना तयार पारिएको हो ।

स्वावलम्बी कृषक भन्ने मुल दुरदृष्टिका साथ संस्थाका शेयर सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गर्ने, आयआर्जनका कार्यक्रमहरुमा सहभागी गराउने प्रमुख लक्ष्यका साथ रणनीतिक योजना तयार गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा रणनीतिक योजना निर्माण सम्बन्धमा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले दीर्घकालिन लक्ष्य, योजना र कार्यान्वयन गर्ने तत्परताका साथ अगाडि बढ्न सुझाव दिएका थिए ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि कृषि क्षेत्रको विकास जरुरी रहेको भन्दै उनले राज्यले लिएको नीतिलाई सघाउ पु¥याउने गरी योजना निर्माण गरेर सहकार्य गर्न सुझाव दिएका हुन ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मणिभद्र शर्माले संस्थाले बनाउन खोजेको रणनीतिक योजनाका बारेमा जानकारी गराएका थिए ।

आगामी ५ वर्ष भित्र संस्थाले काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका शित भण्डार सञ्चालन गर्ने, सदस्यहरुले उत्पादन गरेका वस्तुहरुको संकलन र बजारीकरण गर्ने, उखु र अदुवाको पकेट क्षेत्र निर्माण गरी आयात प्रतिस्थापन गर्ने लगायतका लक्ष्य संस्थाले लिएको छ ।

२०८० साल असार मसान्तसम्म संस्थामा १ हजार ५ सय शेयर सदस्य, ३ करोड ७५ लाख शेयर रकम, ४ करोड ५० लाख निक्षेप र १० करोड कर्जा लगानी गर्ने गरी रणनीतिक योजना तयार गरिएको संस्थाका सचिव चुडामणी शर्माले जानकारी दिए ।

कृषकहरुलाई उत्पादनमा केन्द्रीत गर्ने गरी संस्थाको कुल लगानीको ७५ प्रतिशत कर्जा कृषि र पशुपालनमा लगानी गर्ने, कृषि सम्बन्धी अन्य परियोजनाहरु सञ्चालन गर्ने लक्ष्य लिएको उनले बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष लोकेन्द्र पौडेलको अध्यक्षता र सचिव चुडामणी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply