नारायण रिजाल/प्रदीप पन्त, बागलुङ २०७५ साउन १५ । सरकार विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापिरुपमा बिरोध प्रदर्शन गरेको छ । सरकार अधिनायकबादी बाटोमा अग्रसर भएको भन्दै त्यसलाई खबरदारी गर्न मंगलबार बागलुङ सदरमुकाम, म्याग्दी बेनीबजार र पर्वत कुस्मा बजारमा बिशाल जुलुस प्रदर्शन गरिएको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरीत हिंडेको ठहर गरेर देशव्यापी रुपमा विरोधका कार्यक्रम राखिएको नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले ईबागलुङलाई बताए ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस गण्डकी प्रदेशका मुख्य सचेतक मणिभद्र शर्मा कंडेलले सरकारले संविधान मिचेर अनेक गतिविधि गरेको भन्दै यसको भण्डाफोरका लागी काँग्रेस सडकमा आएको बताए । उनले सरकारले सबैंधानिक अंगमा हस्तक्षेप, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन, संसदमा सभामुख र उपसभामुख एकै दलको बनाएर दुई तिहाईको दम्ब देखाएको हुँदा काँग्रेस प्रर्दशनमा उत्रिएको उनको भनाई थियो ।
काँग्रेसले सर्वसत्ताबाद, बढ्दो महंगी विरुद्ध र लोकतान्त्रिक पद्धतिको रक्षाको निम्ति सडक आन्दोलन थालेको बताएईको छ ।
बिरोध प्रदर्शनमा हजारौंको संख्यामा कार्यकर्ताहरुले सरकार विरोधी नारा लागाउँदै प्रदर्शन गरेका थिए । कार्यक्रममा सांसद सहित तरुणदल महिला संघ विद्यार्थी संघ र अन्य भातृ एवं सुवेक्षुक संस्थाका नेता एवं कार्यकर्ताहरुको सहभागि रहेको थियो । बिरोध -यालीमा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुले नारा सहित बजारमा प्रदर्शन गरेको छ । उनीहरुले सत्याग्रहलाई सम्मान गर,मूल्यवृद्धि फिर्ता गर,संसदीय मान्यतालाई स्वीकार गर,सरकारी ज्यादती बन्द गर,मनोमानी कर नियन्त्रण गर,संबैधानिक सर्वोच्चतालाई कायम गर,प्रेस स्वतन्त्रतालाई कायम गर भन्ने नारा लगाउदै बजार परिक्रमा गरेका थिए । काँग्रेसले आन्दोलनका लागी १० मुद्दा र तिन आरोप अगाडि सारेको छ ।
विरोध पछिको कार्यक्रममा पुर्व सांसद तथा पुर्व पार्टी सभापति प्रकाश शर्मा पौडेल, नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा, महिला संघ बागलुङकी अध्यक्ष सकुन्तला शर्मा लगायतले सरकारको गतिविधि प्रति काँग्रेसको गम्भिर आपत्ती रहेको बताएका थिए ।
कुस्मा बजारमा नेपाली काँग्रेसको बिरोध जुलुुस तस्वीर- प्रकाश पौडेल, कुस्मा ।
कार्यक्रम काँग्रेस बागलुङका सभापति थापाको अध्यक्षता, सचिव नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।