सुमन सुनार, बुर्तिबाङ २०७५ साउन २३ । ढोरपाटन नगरपालिका – १ बुर्तिबाङ बजार स्थीत न्यु मोर्डन एकेडेमीले विपतमा परेका आफ्ना अभिभावकलाई राहत रकम वितरण गरेको छ ।
एकेडेमीको भैपरी विपत कोषबाट गत साउन १ गते राति प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको नजिकै रहेको ठाडो खोल्सामा आएको बाढी पहिरोका कारण प्रभावित बनेका एकेडेमीका २१ जना अभिभावकलार्ई राहत रकम वितरण गरिएको प्रिन्सिपल दिपक कुँवरले ईबागलुङलाई बताए ।
आज एकेडेमीको शैक्षिकसत्र २०७५ को प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रमको अवसर पारेर उक्त राहत रकम वितरण गरिएको कुवँरले बताए । पुर्णरुपमा क्षती भएका १ जनालाई नगद रु ५ हजार र आशिंक रुपमा क्षती भएका २० जनालाई २÷२ हजारका दरले नगद रु ४० हजार गरि २१ जना अभिभावकलाई कुल ४५ हजार रुपैयाँ राहत रकम वितरण गरिएको छ ।
एकेडेमीले आफ्ना शिक्षक, विद्यार्थी, अभिभावक तथा सञ्चालक समितिका सदस्यलाई आईपर्ने आपत विपतमा सहयोग गर्ने उद्देश्यले भैपरि विपत कोषको स्थापना गरेको छ । उक्त कोषका लागी विद्यालयका शिक्षक, विद्यार्थी र सञ्चालक समितिका सदस्यबाट हरेक दिन १ रुपैयाँका दरले बार्षिक रुपमा ३ सय ६५ रुपैयाँ उठाएर नेपाल बैकंको आफ्नो खातामा जम्मा गर्दै आएको प्रिन्सिपल कुवँरको भनाई छ ।
त्यसैगरि नतिजा प्रकाशन तथा राहत वितरण कार्यक्रम कै अवसर पारेर एकेडेमीका ३ जना तेक्वान्दो खेलाडीलाई सम्मन पनि गरिएको छ । गत असार २९ देखी ३१ गते सम्म काठमाण्डौमा भएको दक्षिण एसियाली आई.टि.एफ तेक्वान्दो च्याम्पियनशिपमा न्यु मोर्डन तेक्वान्दो दोजाङबाट सहभागी भएका कक्षा ७ का छात्र किस्मत पुन, कक्षा ७ कै छात्र निरेश थापा र कक्षा ८ की छात्रा करिस्मा घर्ती मगरले गोल्ड मेडल हात पार्न सफल भएका थिए ।
अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खादा, अविर लगाएर प्रशंसापत्रले सम्मान गरिएको थियो । यस्तै न्यु मोर्डन आई.टि.एफ तेक्वान्दो दोजाङका प्रशिक्षक बसन्ती बुढालाई विद्यार्थीलाई राम्रो प्रशिक्षण दिएको भन्दै प्रशंसापत्रले सम्मान गरिएको थियो । साथै नेपाल आई.टि.एफ. तेक्वान्दो संघ जिल्ला समिति बाग्लुङका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई पनि आई.टि.एफ.को विकास र संरक्षणमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।
एकेडेमीका सेयर सदस्य चुडा बहादुर कुँवरको अध्यक्षता रहेको नतिजा प्रकाशन तथा राहत वितरण कार्यक्रममा नेपाल आई.टि.एफ तेक्वान्दो संघ जिल्ला समिति बाग्लुङका अध्यक्ष दिपेन्द्र श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो भने ब्यवस्थापन समितिका सदस्य बालसम कुँवर, शिक्षक अभिभावक संघका संयोजक तिलक बुढा मगर लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि, शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकारको विशेष उपस्थिती रहेको थियो ।
आज प्रकाशन गरिएको नतिजा अनुसार यसै शैक्षिकसत्रको प्रथम त्रैमासिक परिक्षामा सम्मिलित विद्यार्थी मध्य ८९.८९% विद्यार्थी उत्तिर्ण भएको प्रिन्सिपल कुँवरले बताए ।
एकेडेमीका शिक्षिका तारा महतको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश पुरीले गरेका थिए ।