Sorry, that menu does not exist.
 

प्रजिअ खरेल सहितको परीक्षा अनुगमन टोलीव्दारा परीक्षा अनुगमन:
जिल्लाका चार केन्द्रहरुमा २ हजार ६८ परीक्षार्थीले गणित विषयको पूरक परीक्षा दिए !

आफ्नो उत्तरपुस्तिका लिएर जाने भानु मा.वि.की एक छात्राको परीक्षा रद्द !

लोकेन्द्र निरासी, बुर्तिवाङ (बागलुङ) २०७५ साउन २५ । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल सहितको पूरक परीक्षा अनुगमन समन्वय टोलीले आज उत्तरगंगा माध्यमिक विद्यालयमा संचालन भइरहेको एस.ई.ई. ग्रेडबृद्धि (पुरक) परीक्षाको अनुगमन गरेको छ । गत बुधबारदेखि सञ्चालन भएको उक्त परीक्षाको आज गणित विषयका दिन सबैभन्दा धेरै ६ सय ३५ जना परीक्षार्थीहरु रहेकोमा ६ सय ३ जना परीक्षामा सहभागी भएका थिए । आजको विषयमा विद्यार्थी संख्या धेरै भएका कारण रिभरहेड बोर्डिङ स्कुलमा समेत उपकेन्द्र बनाई परीक्षा संचालन गरिएको थियो ।

यस उत्तरगंगा मा.वि. परीक्षा केन्द्रमा २७ विद्यालयका १ हजार ५ सय २८ जना परीक्षार्थीहरुले परीक्षा दिइरहेका छन् । परीक्षा आगामी यही साउन ३१ गते सम्म सञ्चालन हुने छ ।

उक्त परीक्षाको अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, प्रहरी उपरीक्षक दिपक रेग्मी, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख (जिशिअ) कुश्मराज उपाध्याय, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत केशब लामिछाने लगायत ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश यादव, पत्रकार एवं सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी खरेलले परीक्षा अनुगमनका क्रममा अस्वाभाविक उच्छृंखल पोशाक र पहिरनमा उपस्थित भएका परीक्षार्थीहरुलाई सभ्य पहिरनमा परीक्षामा सम्मिलित हुन आग्रह गरेका थिए । परीक्षा शान्तिपूर्ण एवं मर्यादितरुपमा सन्चालन भएको पाईएकोजिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत केशव लामिछानेले ईबागलुङलाई बताए ।

आजको परीक्षामा आफ्नो उत्तरपुस्तिका लिएर जाने भानु मा.वि.की एक छात्राको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए ।

यसैबीच पूरक परीक्षाको आज तेश्रो दिन नियमित तर्फ अनिवार्य गणित विषयको परीक्षा जिल्लाका चार परीक्षा केन्द्रहरुबाट २ हजार ६८ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।

शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयकी सूचना अधिकारी सरिता शर्माले दिएको जानकारी अनुसार जिल्लाभर पूरक परीक्षा दिन आवेदन दिएका २ हजार २ सय परीक्षार्थी मध्य १ सय ३२ जना परीक्षार्थी अनुपस्थित रहेको थिए । भोलि शनिवार विज्ञान विषयको परीक्षा हुने सूचना अधिकारी शर्माले ईबागलुङलाई जानकारी दिईन्।
तस्वीर- अर्जुन ढकाल, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply