Sorry, that menu does not exist.
 

बुर्तिवाङमा सर्वपक्षीय अन्तरक्रिया सम्पन्न : पत्रकारहरु जिम्मेवार बन्नुपर्नेमा प्रजिअ खरेलको जोड !

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७५ साउन २५ । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको प्रमुख आतिथ्यतामा एकीकृत सेवा केन्द्र बुर्तिबाङमा एक कार्यक्रमका बीच बुर्तिबाङ स्थित सम्पूर्ण सरकारी कार्यालय तथा पत्रकारहरुबीच परिचय तथा भेटघाट एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले पत्रकारहरु आवाज विहीनहरुको आवाज बन्दै बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिए । प्रजिअ खरेलले बागलुङ पश्चिम क्षेत्रमा यो छैठौं पटकको आगमन भएको बताउदै कार्यव्यस्तताले यसभन्दा पहिला बुर्तिबाङ क्षेत्रमा आउँदा स्थानीय पत्रकारहरुसंग भेटघाट गर्न अवसर नमिलेको बताए । पत्रकारहरुले गुनासो पोखेका पाए पछी यस पटक उक्त गुनासोलाई मेटाउन पनि पत्रकारहरुलाई समेत अन्तरक्रियामा बोलाइएको हो ।

कार्यक्रममा बोल्दै उनले सोही प्रसङ्गलाई समेट्दै भने– “मैले पत्रकार सम्मेलन गरेर पत्रकारलाई बोलाउने होइन, पत्रकार आफै क्रियटीभ भएकाले थाहा पाएर आफै आउनु पर्छ ।” साथै उनले पत्रकारिता क्षेत्र संवेदनशील भएकाले सूचनाको हक संगै गोपनीयताको हकलाई पनि सम्मान गर्दै पत्रकारहरु खोज पत्रकारितालाई जोड दिदै सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनले समाचारको नकारात्मक लङ्गिच्युटलाई कम गर्दै सकारात्मक सन्देश प्रवाहमा जोड दिनुपर्ने बताए ।

अर्को प्रशंगमा बोल्दै उनले विषयगत कार्यालयका प्रमुखहरुलाई लक्षित गरि सम्पूर्ण सेवा प्रदायक कार्यालयहरुबाट हुने सेवा र काम कार्वाहीलाई चुस्तदुरुस्त गर्दै आफ्नो ओर्क (काम) लाई हार्डओर्क र हार्ड ओर्कलाई गुड ओर्क बनाउनु पर्ने बताए । उनले हरेक व्यक्तिले आफूले काम केवल विज्ञापनको लागि नभएर सेवा र कर्तव्यको लागि जिम्मेवारपूर्ण तरिकाले गर्नुपर्ने बताउँदै समाजमा हरेक व्यक्ति सुगन्धित फूल बनेर बास्ना दिन सक्नुपर्ने बताए ।

कार्यक्रममा उनले जिल्ला प्रशासन कार्यालयबाट भएका सेवा प्रवाहको बारेमा समेत जानाकारी गराएका थिए । उनले परीक्षा अनुगमनका क्रममा क्षेत्रकै महत्वपूर्ण विद्यालय उत्तरगंगा मा.वि.को अवस्था दयालाग्दो देख्दा दुःख लागेको समेत बताए । साथै विद्यालयको भौतिक एवं शैक्षिक गुणस्तर बृद्धिका लागि सबैले जोड दिनुपर्ने बताए ।
प्रजिअ खरेलले आफु जनताको प्रजिअ भएर उनिहरुको घरघरमा पुगेर सेवा प्रवाह गर्न चाहेको बताउदै जिल्लावासीको सहयोगका लागि आफु हरदम प्रयत्नरत रहेको प्रष्ट पारे ।

कार्यक्रममा प्रहरी उपरीक्षक दिपक रेग्मीले जिल्लाको समग्र सुरक्षा अवस्थाको बारेमा अवगत गराएका थिए भने शिक्षा विकास तथा समन्वय एकाई प्रमुख कुस्मराज उपाध्यायले शिक्षाको महत्व र शैक्षिक अवस्थाको बारेमा बताएका थिए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत केशब लामिछानेले जिल्ला प्रशासन कार्यालयबकाट भएका सेवा प्रवाहको बारेमा जानाकारी गराएका थिए । उनले कार्यालयबाट डिजिटल बडापत्र सुरु गरिएको, सहायता कक्ष स्थापना, नियमित र द्रुत राहधानी सेवा, नोटिस बोर्ड सेवा, सूचना अधिकारीको व्यवस्था लगायत सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन कार्यालयबाट पछिल्लो समयमा भएका सेवा प्रवाहको बारेमा जानाकारी गराएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देबकुमार नेपालीले स्थानीय सरकारबाट भएका सेवा प्रवाहको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी, तुल्सीराम अर्याल, निसीखोला वडा नं. २ का वडा अध्यक्ष कुविर वि.क. नेपाल पत्रकार महासंघ बागलुङका सदस्य लोकेन्द्र सुनार लगायतले बोलेका थिए । विभिन्न कार्यालयका प्रमुखहरुले समेत जिज्ञाशा लागेका विषयहरु अन्तरक्रिया कार्यक्रममा राखेका थिए ।

कार्यक्रमकै अवसरमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल सहितको टोलीलाई ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली तथा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रमुख जिल्ला अधिकारी खरेलले पनि विषयगत कार्यालयका प्रमुख, पत्रकार, समाजसेवी लगायत उपस्थित सबैलाई खादा ओढाएर सम्मान गरेका थिए ।

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको अध्यक्षता रहेको उक्त कार्यक्रममा मालपोत कार्यालय बुर्तिबाङका प्रमुख नारायण घर्तीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले गरेका थिए ।

तस्वीर- अर्जुन ढकाल, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply