शव्द/चित्र : राम सुवेदी
प्रकृतिको अनुपम उपहार ढोरपाटनको चर्चा जति गरेपनि थोरै हुन्छ । यहाँको मनोहर दृश्यावलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटकहरु मात्र होईन ढोर बराह भगवानको पूजा अर्चनाका लागी आउने श्रद्धालुहरुको संख्या दिनगुना रात चौगुनाको हिसाबले बढिरहेको छ । ढोरपाटनको महिमालाई बिजुली बालेर देखाई रहनु पर्ने अवस्था रहेन । यसको सुगन्ध चारै दिशामा फैलिरहेको छ । धार्मिक एवं पर्यटकीय हिसाबले मात्र नभएर दुर्लभ वन्यजन्तुको शिकारका लागि पनि ढोरपाटन विश्व प्रशिद्ध छ ।
बुर्तिवाङ हुँदै ढोर देउरालीमा पुग्दा त्यहाँबाट देखिने ढोरपाटन उपत्यकाको मनोरम दृश्य हेरेर हामी अल्हादित बन्छौँ, वाहा ! भूस्वर्गमा आईयो भनेर मख्ख पर्छौँ, ढोर बराहको दर्शन गरेर धन्य हुन्छौँ । नवी गाउँ छिचोल्दै जब नवी खोला (सानो भेरी) पार गरेर स्याल पाखेको बाख्लो बस्तीमा पुग्छौँ, त्यहाँको बन्दोबस्तीलाई देखेर लोभिन्छौँ । त्यसदेखी माथी एयरपोर्ट हुँदै नेपालकै एकमात्र शिकार आरक्ष कार्यालय, जहाँ हाकिम, कर्मचारीहरु बिरलै (सिजनेबल) देख्न पाईन्छ, नेपाली सेनाको हनुमानध्वज गुल्म हुँदै पाखाथर गाउँ भएर उजाड बन्दै गएको तिब्बती शरणार्थीहरुको बसोबास गर्ने थलो वा जीर्ण बनिरहेको तिब्बती शरणार्थीले बनाएका गुम्बाहरु अबलोकन गर्दै समयले भ्याए छेन्तुङ सम्म पुग्छौँ । यत्ति घुमेपछी लाग्छ ढोरपाटन सकियो, यहाँको मनोहरताले पेट भरियो । क्या भूस्वर्गमा आईएछ ! भन्दै दुईचार तस्बीरहरु मोबाईलमा क्याप्चर गरेर फर्कन्छौँ ।
ढोरपाटन घुम्न आएका गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले केहि क्षणको बसाई पछी भनेका थिए, ‘ढोरपाटन नेपालको एक अमुल्य सम्पती भएकोले ढोरपाटन नआइ मरेको भए मेरो सास अधुरो रहने रहेछ ।’ अर्थात ढोरपाटनको सौन्दर्यलाई प्रशंसा नगर्ने को होला ? ढोरपाटन उपत्यका अवलोकन पछी यसको बखान नगर्ने मानिस भेट्टाउन गाह्रै पर्छ ।
प्राय: ढोरपाटन भनेको माथी वर्णित ठाउँहरु नै भएको मान्यता धेरैको मानस पटलमा रहेको छ । ढोरपाटन (उपत्यका) माथीपनि हेर्न बुझ्न लायक झन रमणीय ढोर (पाटन) छ, खर्कहरु छन्, बुकीहरु छन्, ताल तलैयाहरु छन् भन्ने प्रचार प्रसार हुन सकेको छैन । ढोरपाटन उपत्यकामा बसोबास गर्ने स्थानीयहरुको बस्तुभाउ (गाई, भैसी, भेँडा बाख्रा, घोँडा) चराउने चरिचरन, उनिहरुलाई राख्ने गोठ छाप्रा र बस्तुभाउलाई चाहिने घाँसपात जोहोका लागि ‘बुकी जीवन’ प्रचार प्रसारको अभावमा ओझेलमा छ ।
बैशाख महिनाको आखिरी, जेठ महिनाको एक दुई गते देखी ढोरपाटनबासीहरु आआफ्ना बस्तुभाउ लिएर बुकी जान्छन् । झण्डै १० घण्टाको उकालो चढेपछी पुगिने सेर्चुङ, ठाउँखर्क, मर्चुला, डखर्क आदि बुकीहरुमा स्थानीयका बस्तुभाउहरु चर्छन् । पोसिलो घाँसपात खाएर बस्तुभाउ निरोगी .र स्वस्थ्य हुने र दुध राम्रो दिने भएकाले घ्यू, छुर्पे चिजहरु बनाई त्यसबाट आय आर्जन समेत गर्दै आएका छन् । यार्सागुम्बा, पाँचऔँले, बन लसुन, बुच्चे च्याउ, चिच्मा आदि जडीबुडी पनि बुकीमा पाईने स्थानीयको भनाई छ । भदौ महिनामा बुकीबाट स्थानीयहरु बस्तुभाउहरु लिएर गाउँ ढोरपाटन झर्ने प्रचलन रहि आएको छ ।
बुकीमा बस्ने गोठहरु, खानपिनका लागि चाहिने अन्नपात र अन्य बन्दोबस्तीका सामानहरु सहित स्थानीयहरु बुकी पुग्छन् । बुकी र खर्कहरुको दृश्यावलोनका लागी खासगरी जेठ महिना उत्तम मानिन्छ । यहाँ तिनै बुकी, खर्क र त्यहाँको जनजीवन सम्वन्धी तस्वीरहरु प्रस्तुत गरिएको छ ।
ढोरपाटन २०७५ साउन २८ ।
लेखक, ईबागलुङका सम्पादक हुन् ।
योपनि पढौँ
साताको तस्वीर : ढोरको बुकी !
साताको तस्वीर : त्यस बखतको ढोरपाटन !
साताको तस्वीर: गन्तव्य ढोरपाटन !