सुमन सुनार, बुर्तिबाङ २०७५ साउन २९ । ढोरपाटन नगरपालिकाले बुधवार देखी प्रत्येक वडा–वडामा पुगेर गरिव घरपरिवार परिचयपत्र वितरण गर्ने भएको छ । ढोरपाटन नगरपालिकामा गरिव घरपरिवार पहिचान सर्वेक्षण, २०७० मा आधारित पीएमटी विधिव्दारा पहिचान भएका तर परिचयपत्र नलिएका अति गरिव, मध्यम र समान्य गरिव घरपरिवारलाई परिचय पत्र वितरण गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा गत असार २४ गतेबाटै परिचयपत्र वितरण गर्ने कार्यक्रम थालिएको भएपनि नगरपालिकाबाट परिचयपत्र लिने नागरिकको उपस्थिती न्युन रहेपछि प्रत्येक वडा÷वडामा गुम्ती सिविरनै सञ्चालन गरेर गरिव घरपरिवार परिचयपत्र वितरण याजना बनाइएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए ।
बुधवार पहिलो दिन वडा नं. ७, ८ र ९ मा वितरण गरिने पोखरेलले जानकारी दिए । वडा नं. ७ स्थित ज्ञानोदय माध्यमिक विद्यालय बोबाङमा शिविर सञ्चालन गरिने भएकाले गरिव घरपरिवारको सुचिमा सुचिकृत भएका तिन वटै वडाका नागरिकलाई सहभागी भै परिचयपत्र लिनका लागी अधिकृत पोखरेलले आग्रह समेत गरेका छन् । त्यसैगरि साउन ३१ गते विहिबार अधिकारीचौर स्थीत शिवालय माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिने र वडा नं. ५ का घरधुरीलाई परिचयपत्र वितरण गरिने पोखरेलको भनाई छ ।
नगरपालिकाको कार्यालयबाट १ महिनाको अवधिमा १ सय १६ जनाले घरपरिवारले परिचयपत्र लिएका छन् । जस अनुसार अति गरिव ५७ घरपरिवार रहेका छन् भने मध्यम २४ र सामान्य गरिव ३५ घरपरिवारलाई वितरण गरिएको नगरपालिकाका सामाजिक परिचालक विष्णु विश्वकर्माले जानकारी दिए ।
ढोरपाटन नगरपालिकामा जम्मा ४ हजार ९ सय ६९ घरपरिवारमा गरिव घरपरिवारको सर्वेक्षण गरिएको थियो जस मध्य १ हजार ५ सय ४३ घरपरिवार गरिब घरपरिवारको सुचिमा परेका थिए । २०७० सालमा गरिएको उक्त सर्वेक्षण अनुसार नगरपालिकामा अति गरिव ७ सय २३, मध्यम गरिव ४ सय ५९ र समान्य गरिव ३ सय ६१ घरपरिवार रहेका छन् ।