बागलुङ २०७५ भदौ ४ । आगामी भदौ २९ गते विभिन्न कार्यक्रमहरुको आयोजना गरी बाल दिवस मनाईने भएको छ । आज जिल्ला प्रशासन कार्यालय बागलुङ प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सुखी नेपाली सम्वृद्ध नेपाल बाल अधिकार सबैको सरोकार मुल नाराका साथ बाल दिवसको मुख्य समारोह भदौ २९ गते हुने बैठकले निर्णय गरेको छ ।
बैठकले भदौ २८ गते बाल श्रम बिरुद्ध अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । अन्तरक्रिया कार्यक्रम जिल्ला बालकल्याण समितिका सदस्य काजी रोशनको संयोजकत्वमा गरिने छ भने यसको व्यवस्थापनको जिम्मा बागलुङ उद्योग बाणिज्य संघलाई दिईएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले ईबागलुङलाई बताए ।
यसै गरी आजको बैठकले बाल अधिकार सम्वन्धि प्रवचन कार्यक्रम नेपाल बाल संगठनका सुभाष आचार्यको संयोजकत्व र शिक्षा विकास तथा ईकाई कार्यालयले आवश्यक सहयोग गर्ने बताईएको छ । यस प्रवचनको आवश्यक व्यवस्थापन बाउबा संघले मिलाउने बताईएको छ ।
यसैबीच बाल दिवस जिल्लाका सबै स्थानीय तहमा भव्यरुपमा मनाउन जिल्ला समन्वय समिति मार्फत गर्न लगाउने पनि आजको बैठकले निर्णय गरेको छ ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।