म्याग्दी २०७५ भदौ ६ । बेनी नगरपालिका–१ रत्नेचौरमा खोप केन्द्रको भवन उद्घाटन गरिएको छ । रत्नेचौर स्वास्थ्य चौकी अन्तर्गत खोप केन्द्र तथा गाउँघर क्लिनिकको भवनको उद्घाटन जग्गा दाता मानबहादुर थापा मगरले गरेका छन् ।
मगरले मानव स्वास्थ्य सबै भन्दा महत्वपुर्ण बिषय भएकाले जन्म देखी नै स्वास्थ्य प्रति संवेदनशील बन्नुपर्ने बताए । उनले आगामी दिनमा पनि यस्ता खालका सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख दिनेश जिसीले केन्द्रले नियमित रुपमा खोप तथा क्लिनिक चलाउन सहज हुने बताए ।
सो अवसरमा जग्गादाता तथा पुर्व उपसचिव मानबहादुर थापा मगरलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेकबहादुर रावलले खोप केन्द्रलाई शहरी स्वास्थ्य क्लिनिकमा रुपान्तरण गर्न पहल गर्ने बताए । वडा अध्यक्ष रावलको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख दिनेश जिसीकोे स्वागत र वडा सचिव रमेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त खोप केन्द्रको २ कोठे पक्की भवन ८ लाख रुपैँयामा निर्माण सम्पन्न भएको निर्माण समितिले जनाएको छ ।