गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ ९ । गल्कोट नगरपालिका वडा नम्बर ७ मल्मको बामियाँ र आँगाखेत जोड्ने हुलुवा खोलामा गत महिना आएको बाढीका कारण झुुलुङगे पुल, ग्वाबिन जाली र खोला वरपर रहेको गोरेटो बाटो बगाएपछी त्यस्को मर्मत सम्भार हुन नसकेपछी स्थानीय समस्यामा परेका छन् ।
नगरप्रमुख, उपप्रमुख, प्रदेश सांसद र प्रतिनिधि सभा सांसदहरु अवलोकनका लागी आएर आफुहरुलाई आश्वासन मात्रै दिने गरेको स्थानियले गुनासो गरेका छन । पुल बगाएको लगत्तै अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिसबाट क्षेत्रिय शिक्षा कार्यालय पोखराबाट २ लाख निकासा भएको स्थानिय वीर बहादुर चोखालले बताए ।
खोलामा बनाईएको बैकल्पिक काठको पुल पनि कति बेला खस्ने हो थाहा छैन चोखालले भने, अब खोलामा वारपार गर्ने झुलुङ्गे पुल तथा गोरेटोबाटो निर्माणका लागी समेत समस्या भएको उनको भनाई छ । खोलाले वरपरको भाग बगाएपछि सानोतिनो योजनाले खोलामा पुल बन्न नसक्ने स्थानियको दाबी छ ।
२०७३ सालमा स्थानिय वीर बहादुर चोखालले सामाजिक सञ्जाल मार्फत सञ्चालन गरेको सहयोग संकलन अभियान मार्फत देश बिदेशबाट संकलन भएको २ लाख १५ हजार र स्थानियको ६० हजार सहयोगमा खोलामा ग्याबिन जाली लगाईएको थियो ।
त्यस्तै २०७४ सालमा मल्मबाट जापानमा पुगेकाहरुको सक्रियतामा ३ लाख ५० हजार, गल्कोट नगरपालिकाबाट ४ लाख र पुल मर्मतका लागी नगरपालिकाबाट ३ लाख, भुसंरक्षणको स्थानिय पावर समितिबाट ६० हजार र करिब २ लाख बराबरको स्थानिय जनश्रमदानमा पुल मर्मत तथा खोला वरपर तटबन्धन सँगै गोरेटोबाटो निर्माण गरिएको थियो ।
२०७३ सालदेखि दिपज्योति आधारभुत बिद्यालय तथा मल्म बामियाँको बस्तीलाई सुरक्षित गर्न बनाईएको तटबन्ध र खोलामा भएको झुुलुङगे पुल यस बर्षको हुलुवा खोलामा आएको बाढीले बगाएको हो । खोलाले वरपरको करिब २० मिटर गोरेटोबाटो समेत बगाएको स्थानिय रत्न बहादुर मल्लले बताए । खोलाको छेउमा रहेको दिपज्योति आधारभुत बिद्यालय गत महिना करिब १० दिन सम्म पठनपाठन बन्द भएको थियो । हुलुवा खोलाले बिद्यालय आवतजावत गर्ने झुलुङगे पुल र बिद्यालय परिसर भित्रको गोरेटोबाटो बगाएपछि बिद्यालय बन्द गनुपर्ने बाध्यता भएको बिद्यालयका प्रध्यानाध्यापक शारदादेबी शर्माले बताईन ।
स्थानियको सक्रियतामा खोलामा अस्थाई काठको पुल निर्माण भएपछि बिद्यालय सञ्चालन गरिएको शर्माको भनाई छ । गोरेटो बाटो नभएपछि स्थानियले जन्ति, मलामी दिवज्योति आधारभुत बिद्यालयको प्राङगणबाट आवतजावत गराउने गरेको बिद्यालयका सहायक प्रध्यानाध्यापक वीर बहादुर चोखालले बताए । गल्कोटको हटिया, हरिचौर, बासखोला जाने पैदल यात्रीहरु यतिबेला बिद्यालयको प्राङगण हुदै जाने गरेका छन । मानिसहरुको आवतजावत हुदाँ होहल्ला हुने हुदाँ बिद्यालयको पढनपाठनमा समस्या पर्ने गरेको चोखालले बताए । खोलाले गल्कोटको सबैभन्दा बढी क्षति मल्मको बामियाँमा गरेपनि हालसम्म कुनै निकायबाट आवश्यक सहयोग प्राप्त नभएको स्थानिय रत्न बहादुर मल्लले ईबागलुङलाई बताए ।
तस्वीर- बाढीले पुल बगाएपछि तत्कालै स्थलगत अनुगमनमा पुगेको प्रजिअ खरेल सहितको टोली ।