Sorry, that menu does not exist.
 

धर्म प्रचारको नयाँ शैली : सत्संग, भजन कीर्तन गरेर असाध्य रोगहरु निको होला ?

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ ११ । छारे, बाथ, मुटु, घाँटीको टन्सिल, हाडजोर्नी देखि क्यान्सर सम्मका असाध्य रोगहरु भजन कीर्तन गरेर निको हुन्छ भन्ने कुरा धेरैले पत्याउदैनन् । तर गल्कोटमा खुलेको एउटा संस्थाले भने सच्चाईको सत्सँगमा आएर गवाई, बचन र भजन कीर्तन गरेपछि निको हुने बताउदै आएको छ । गल्कोट हटियामा गत २०७३ सालदेखि सन्चालित सच्चाईको सत्संग नामक संस्थाका संयोजक नुतन घर्तीले महिला तथा पुरुषहरुलाई जम्मा गरि गवाई, बचन र भजनकीर्तन गरेर रोग निको पारिदै आएको बताए । सत्संगका सहभागीले गवाई, बचन तथा भजन कृतन गरिरहँदा यशु, पिता, परमेश्वरको नाम लिईरहेका हुन्छन । त्यसैले यस संस्थाले क्रिश्चियन धर्म प्रचार गरिरहेको आरोप लाग्दै आएको छ ।

सच्चाईको सत्संगमा प्रत्येक शनिबार महिला तथा पुरुषहरुलाई सयुक्त रुपमा राखिन्छ भने आईतबार महिलाहरुलाई राखेर पवित्र बाईवलमा भएका बिषयबस्तुका बारेमा जानकारी गराउने गरिन्छ । हटियाको कोटमैदान जाने चोकै निर सत्सँगमा आउने महिलाहरुबाट संकलन गरिएको रकमबाट टहरो निर्माण गरिएको छ ।

डाक्टरहरुले समेत उपचार गर्न नसकेका रोग समेत पबित्र बिश्वासका साथ सत्सँगमा सहभागी भए निको हुने सहभागी गल्कोट रिघाकी सीता बिकले बताईन् । बिकले आफुलाई अत्याधिक रक्तश्राव भएको बेला काठमाडौको पाटन अस्पतालमा समेत उपचार नभएपछि आफु सत्सँगमा आएपछि निको भएको दावी गरिन । सत्सँगमा सहभागीहरु मध्ये अधिकांशले आफुसँग भएको रोग निको हुदै गएको दावी गरेका छन । सत्सँगमा प्रत्येक हप्ता महिला तथा पुरुष गरि करिब २ सय जना सहभागी हुने गरेका छन ।

कतै यो कार्यक्रम धर्म परिवर्तन सँग सम्बन्धित त होईन ? भन्ने प्रश्नमा टोलीमा संयोजक घर्तीले हामीले रोग सम्बन्धि बिषयमा ज्ञान दिन्छौ तर धर्म परिवर्तन नभएको बताए । त्यस्तै सहभागीहरुबाट आफनो ईच्छा अनुसारको दान उठाउने गरिएको छ । उक्त दान एकले अर्कोलाई नदेखाई झोलामा खसाउने गरिएको घर्तीको भनाई छ । संकलित रकम दीन दुखी तथा बिपदमा परेकाहरुलाई सहयोग गर्ने गरिएको घर्तीले बताए । हालसम्म गल्कोटमा कति रकम संकलन भयो ? भनेर सोध्दा यसको बिषयमा आफुलाई जानकारी नभएको घर्तीको भनाई थियो ।

संकलित रकम सँगै अन्य बिषयमा हामी सत्सँगको केन्द्रिय कार्यालयमा सम्पर्क गर्छौ नम्बर उपलब्ध गराउन सक्नुहुन्छ ? भन्ने प्रश्नमा आफुलाई सम्पर्क नम्बर थाहा नभएको घर्तीले बताए । घर्तीले आफनो केन्द्रिय कार्यालय पोखरा लामाचौरमा भएको र नेपाल सरकारबाट स्विकृति लिएर सञ्चालन गरेको जानकारी दिए । हामीसँग प्रहरी प्रशासन पनि आए, नगरपालिकामा पनि हाम्रो बिधान लगायतका बिषयमा जानकारी गराएका छौ घर्तीले भने । बैधानिक रुपले सत्सँग सञ्चालन गरेका उनको दावी थियो ।

तर स्थानीयको बुझाईमा, यशुको नामको भजन कीर्तन गरेर गीत गाएर असाध्य रोगहरुको निदान संभव छैन, सत्संगमा रोगीहरु भन्दा बढी निरोगीहरुको सहभागिता रहने गरेको र केवल यशुको नामको संकीर्तन गर्न लगाईने भएकोले संस्थाबाट क्रिश्चियन धर्म प्रचार गर्ने काम भैरहेको छ । यस बिषयमा स्थानीयतह एवं प्रहरी प्रशासनले ध्यान दिनुपर्ने देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply