घनश्याम गौतम गल्कोट २०७५ भदौ १३ । गल्कोट नगरपालिका ३ हटिया बजारमा महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा बृहत खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता सहित गल्कोट एफ एमले सातौँ गल्कोट तीज उत्सव २०७५ भव्य रुपमा मनाउने भएको छ । यहि भदौ २३ गते शनिवारका दिन आयोजना गरिने तीज उत्सवको तयारी अन्तिम चरणमा रहेको छ ।
दरम र गौदी खोलाको किनार सिमखेतमा अवस्थित हटिया बजारमा विभिन्न मेला उत्सब तथा महोत्सवहरुको आयोजना हुदै आएको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै स्थानिय तह सँगको सम्वन्वयमा २०६९ साल देखी गल्कोट एफ एमले तीज उत्सवको आयोजना गर्दै आएको छ ।
महिलाहरुको सामान्य देखी जटिल हिसांँ, कुरिती, महिला महिला बिचका बिभेद न्युनिकरण गर्दै महिलाहरुको क्षमता अभिबृद्धि गर्न यस सामुदायिक रेडियोले बिभिन्न क्रियाकलाप सञ्चालन गदैं आईरहेको छ । बिशेष गरि हिन्दु नारीहरुको महान पर्ब हरितालीका तीजमा महिलाहरु बिचको पीर बेदना तथा पीडालाई बिसाउर्दै बिबिध प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरि महिलाहरुको बास्तबिकतालाई बुझ्ने प्रयासमा निरन्तर रेडियो परिबार लागिरहेको छ ।
त्यसैले “आधा धर्ति आधा आकाश, शिक्षित महिला देशको बिकास” भन्ने उद्देश्य सहित नारीहरुको सम्मानार्थ सञ्चालन गदै आयोजित ७ औ गल्कोट तिज उत्सव २०७५ मा बृहत खुल्ला तीजगीत तथा नृत्य प्रतियोगिता, बगलुङमै पहिलो पटक ५० बर्ष माथिका महिलाहरुको नृत्य प्रतियोगिता सहित विविध कार्यक्रम सन्चाल गर्ने बताईएको छ ।