निर्मल पौडेल, पर्वत २०७५ भदौ २२ । पर्वत मिलन क्लवको भातृ संगठन मिलन महिला समूहले मृगौला र कलेजो रोग पीडितलाई आर्थिक सहयोग गरेको छ । हरितालिका तीजको अवसरमा विभिन्न संघ संस्थाहरुले फजुल खर्च गरिरहेका वेला यस समुहले दर खाने रकम जोगाएर मृगौला र कलेजो रोग पीडित २ जनालाई आर्थिक सहयोग गरेको हो । मृगौला पीडित कुस्मा नगरपालिका ८ का थमन विकलाई २८ हजार र कलेजो रोग पीडित कुस्मा नगरपालिका ५ का तिला माझीलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको पर्वत मिलन क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिएका छन् । आर्थिक अभावले मृगौला पीडित विक उपचारका लागि समस्यामा छन । त्यस्तै माझी पनि आर्र्थिक अवस्था कमजोर हुँदा समस्यामा परेका छन् ।
कुस्मा भ्यू प्यालेसमा आयोजना गरिएको कार्यक्रममा रकम हस्तान्तरण गर्दै मिलन महिला समूहका अध्यक्ष राजकुमारी श्रेष्ठले दरखाने रकम बिरामीहरुलाई सहयोग गर्दा उनिहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने र थोरै मात्रामा भएपनि विरामीको उपचारमा राहत मिल्ने भएकाले सहयोग गरेको वताइन् ।
कार्यक्रममा वोल्दै प्रमुख अतिति कुस्मानगरपालिका वार्ड नं ५का अध्यक्ष चित्रकला शर्मा भारतीले मिलन क्लवले गरेको सहयोग कार्य निकै सह्रानीय भएको वताइन । भारतीले समाजमा अहिले पनि चाडपर्वको नाममा फजुल खर्च गर्ने चलन हावी हुँदै गएको भन्दै त्यस्ता कार्यहरुले संस्कृतीमा विकृति आउन सक्ने सम्भावना रहेकोले दुख प्रकट गरिन् । मिलन महिला समूहले विगतका वर्षहरुमा पनि देउसीभैलो खेलेर र महिला दिदी वहिनीहरुसंग सक्दो सहयोग जुटाएर आर्थिक सहयोग गर्दै आएको पर्वत महिला मिलन समुहकी सचिव लक्ष्मी श्रेष्ठेको भनाई थियो । श्रेष्ठले चाडपर्वहरु सामान्य रुपमा पनि हर्षोल्लासका साथ मनाउन सकिने भन्दै फजुल खर्च कटाएर सामाजिक कार्यमा लाग्न सवैलाई आग्रह गरिन् ।
कार्यक्रममा पर्वत मिलन महिला समुहकी सल्लाहकार सरस्वती शर्मा जिज्ञासु, महिला समुहकी निवर्तमान अध्यक्ष वुद्ध कुमारी श्रेष्ठ, समाजसेवी पवित्रा श्रेष्ठ ,धौलागिरी वहुउद्देश्यिय महिला समुहकी अध्यक्ष लक्ष्मी अधिकारी,पर्वत मिलन क्लवका महासचिव विनोद विक्रम पोख्रेल,नेवा साँस्कृतिक समुहका अध्यक्ष तेज प्रसाद श्रेष्ठ ,सिसेफ महिला समुहका उपाध्यक्ष कामना रेग्मि लगायतले वोलेका थिए ।
मिलन महिला समूहका अध्यक्ष राजकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महिला मिलन समुहका सचिव लक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।