Sorry, that menu does not exist.
 

जसका माईती मावली छैनन, घरमा खाने खर्च छैन त्यस्ता महिलाहरुको ईस्मा सरकार बन्यो माईती !

प्रेम सुनार, गुल्मी, २०७५ भदौ २७ । जसका माईती मावली छैनन र घरमा पनि खाने खर्चको अभाव छ । त्यस्ता महिलाहरुको लगत संकलन ग-यो ईस्मा गाउँपालिका सरकारले । कुल ८० घरधुरीका महिलाहरु त्यस्तो अवस्थामा रहेको एकिन भयो । उनिहरुलाई मंगलवारका दिन साविक दोहली गाउँ कमिटी अध्यक्ष विष्णु सुनारले घर घरमा बाईक लगेर ल्याउँदै दरखाने कार्यक्रम स्थलमा ल्याए ।

मिठो मसिनोसंगै खुसी थुप्रै चेली आजको एकभक्तेको साँझसम्म माइत पुग्छन् । एकभक्तेलाई दरखाने दिनका रुपमा चिनिन्छ । रातभर रमाइलो गरि दर खाने भएकाले यो बिशेष हो । तर न माइत पुगेर दर खान सक्ने न घरमै दर खानेहरुका लागि यो दिन बेरसिलो बन्छ । त्यसैले यो बर्ष इस्मा गाउँपालिका त्यस्ता चेलीका लागि माइती बनेको छ । जसले त्यस्ता थुप्रै बिपन्न दलित महिलाहरुलाई बोलाएर दर खुवाएको छ ।

इस्मा गाउँपालिका ५ की अनकला विक उमेरले ६० नेटो काटिन् । उनी अहिले घरमा एक्लै छन् । पाँच बर्ष अघि श्रीमानको मृत्यु भएको थियो । छोरा छैनन, छोरीहरु सबैको बिहे भई सक्यो । ती छोरीहरुलाई समेत तीजमा मिठो मसिनो खुवाउन बोलाउन सक्ने अवस्था रहेन । उनको झुप्रे घर र कुप्रे शरीर छ ।

उनलाई के को घर के को तीजको दर रहेको अवस्थामा ईस्मा गाउँपालिकाले दर खान बोलायो । बल्ल उनलाई श्रीमानले दुख गर्ने ताकाको तीजको झल्को आयो । उनि दर खाए संगै तिज गितमा झुमिन । ‘माइत नगएका धेरै बर्ष भयो हजुर , माइतमा पनि केहि छैन,’उनले भनिन,‘घरमा पनि एक्लै छु, म अभागी एकलकाटेलाई के को तिज के को दशैै भएर बसेकी थिएँ, आज पो बल्ल तिज आए जस्तो भयो, उनले गला अवरुद्ध पार्दै भनिन ।

यो बर्ष मुना विक पनि माइतमा नगएर बसेकी छन । आमा बिनाको माइत रित्तो लाग्ने भएर उनि माईत नगएको बताउँ छिन । धन पैसो भए पो चाड पर्व आउँदो रै’छ , उनले भनिन,‘धेरै बर्ष भयो तिजमा दर न सर भएको ।’ त्यहाँ आएका उनि जस्ता ८० जना महिलाको अवस्था र पीडा उस्तै थियो ।

सोहि अवस्थालाई मध्ये नजर गर्दै इस्मा गाउँपालिकाले अरु स्थानिय तहले समेत शिरोधार्य गर्ने काम गरेका छ । दलित समुदायको बाहुल्य रहेको गाउँपालिका हो त्यो । इस्मा गाउँपालिका ५ डाँडीपोखरीमा विपन्न दलित महिलाहरुलाई दर खुवाएर उनीहरुसंगै गाउँपालिकाको टोलीले रमाइलो गरेको थियो ।

जसका कारण आफुहरुलाई माइतको झल्को मेटिएको वडा सदस्य समेत रहेकी पार्वता विकले बताइन् । इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, उपाध्यक्ष बिमला खत्री, गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत चन्द्र कान्त बस्नेत, वडा नं ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारी, वडा नं ३ का कार्यबहाक अध्यक्ष शिर बहादुर कुवंर, वडा सदस्य नारायण पैयानी, कार्यपालिका सदस्य कमला सुनार सहितको टोलीले दिनभर महिलाहरु संग आत्मियता साटा साट गरिरहेको थियो ।

यो कामले छुवाछुतको अन्त्यका साथै महिलाहरुमा खुसीको बहार थप्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बताए । उनले गाउँपालिकाका विभिन्न वडाका बिपन्न महिलाहरुलाई जुटाउने आफुहरुको योजना भएपनि विभिन्न बाहानामा सचेत व्यक्ति पनि उपस्थित नभएको गुनासो गरे ।

गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बिपन्न दिदिबहिनीहरुको खुसीका लागि आफु माइत नगएर कार्यक्रम राखेको बताइन् । उनले यो कार्यक्रमले दिदिबहिनीमा सचेतना र खुसी दुवै दिलाएकाले आगामी दिनमा अझै परिष्कृत गरेर अगाडी बढाउने बताइन् ।

उनले अझै पनि बुद्धिजिबी वर्गमा छुवाछुत प्रतिको धारणा बलियो बनेर रहेकाले जनप्रतिनिधीनै यो कार्यक्रममा सहभागी बन्न नसकेकोमा दुख व्यक्त गरिन् । त्यस्तै नेकपाका नेता समेत रहेका गाउँ सभा सदस्य नारायण पैयानीले कम्युनिष्ट नेताहरुमै व्यावबहार भन्दा सिद्धान्त र आदर्श बढि भएको बताए । उनले यो कार्यक्रम एउटा टोलको बिषय नभएर समग्र देशको लागि उदाहरणको रुपमा रहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply