कौरव खत्री, गुल्मी २०७५ भदौ २९ । गुल्मीको मुसिकोट नगरपालिका १ पौदी अमराईमा खुल्ला तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
सोही ऋषिपञ्चमीको अवसरमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका उपमेयर कमला शर्माले यो ऐतिहासिक मेला आयोजना गरेर यस वडाले तीजको मौलिक संस्कृतिलाई जोगाउन खेलेको भूमिका अनुकरणीय भएको भन्दै तीजमा प्रस्तुत गरिएका विषबस्तुलाई आफूले नगरभित्रपनि आवाज उठाउदै व्यवहारमा लागू गर्न पहल गर्ने बताएकी छन् ।
उपमेयर शर्माले युवा पुस्तालाई स्वदेशमै बसेर आफ्नो बुद्धि, विवेक श्रम र क्षमतालाई प्रयोग गरि स्वदेशमै आर्थिक समृद्धि गर्न आग्रह गरिन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य कौरव खत्री, नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का पार्षद थम्मन थापा, एवं कार्यक्रमलाई आर्थिक तथा सामाजिक रुपमा सहयोग गर्ने प्रायोजक, सहयोगदाता लगायतलाई सम्मान गरिएको थियो ।
ऋषिपञ्चमी मेलाको अवलोकन गर्नको लागि गुल्मी र बागलुङबाट कलाप्रेमी एव दर्शकहरुको सहभागिता रहेको ऋषिपञ्चमी मेला आयोजक समितिका उपसंयोजक बिष्णुध्वज खातीले ईबागलुङलाई बताए ।
सो अवसरमा आयोजित खुल्ला तीज गीत तथा नृत्य प्रतियोगितामा १० समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा तमु महिला समूह ईश्मा गाउँपालिका ४ गुल्मी प्रथम, विजयशील युवा क्लव मालिका गाउँपालिका १ गुल्मी व्दितीय, देवीस्थान युवा क्लव ईश्मा गाउँपालिका ४ गुल्मी तृतीय भएका छन् भने नवप्रतिभा युवा क्लव बडीगाड गाउँपालिका २ बागलुङले सान्त्वना पुरस्कार पाएको छ । विजेताहरुलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम ऋषिपञ्चमी आयोजक समितिका संयोजक हरि बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रम समितिका नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालय पौँदी अमराईका प्राचार्य चिरिञ्जीवी थापाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सोही विद्यालय शिक्षक टेक बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।