Sorry, that menu does not exist.
 

प्रजिअ खरेलको समन्वयमा नेपाली सेना र प्रहरीको उद्धार टोली तुरतुरे घटनास्थल प्रस्थान !

बिमल खड्का, बागलुङ (तुरतुरे) २०७५ भदौ ३० । ढोरपाटन नगरपालिका र बडीगाड गाउपालिकाको भीङगिठेको सीमानामा पर्ने तुरतुरेमा राति ११ बजेको समयमा भीषण भूस्खलन पछी बडीगाड खोला थुनिएर उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको समन्वयमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मी, नेपाली सेनाको अर्जुनवाण गणका प्रमुख गणपति भुनवराज देवकोटा सहितको टोली घटनास्थल तर्फ प्रस्थान गरिसकेको छ ।

प्रजिअ खरेलसंगको फोन सम्पर्कमा ईबागलुङलाई भने, ‘हाम्रो टोली अहिले घोँडाबाँधेबाट दुदिलाभाटी पुगी सकेको छ, उद्धारका लागि सबै प्रहरी निकायहरुमा खवर भैसकेको छ, नेपाली सेनाको टोली र पर्वत कुस्माबाट सशस्त्र प्रहरी बलको एक टोली प्रहरी निरीक्षकको कमाण्डमा मुभ भैसकेको छ । हामी घटनास्थल पुगेपछी उद्धार कार्यलाई तदारुकताका साथ अघी बढाउने छौँ ।’ प्रजिअ खरेलले गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग पनि समन्वय भैरहेको जानकारी दिए ।

यसैवीच केहि समय पहिले २.५० बजे सम्मको जानकारी अनुसार सोहि स्थानमा रहेको एक गोठ र गोठमा भएका २ वटा गोरु पानीले तालमा परेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिएका छन् । पहिरो मध्य पहाडी लोकमार्ग भन्दा १० मिटर माथिसम्म थुप्रिएकाले सबैलाई सजक हुन प्रशासनले आग्रह गरेको छ ।

मध्य पहाडी लोकमार्ग भन्दा ७ मिटर तल सम्म पानीको बाहक आएकाले तल्लो बस्ती भिमगिठे, खाल, खार, खर्वाङका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । पानी तालबाट बाहिर जाने क्रम रोकिएकाले अहिले सम्म १ किलो मिटर जति पानीको ताल बनेको छ । पानीको बाहक बढेसँगै त्यस भन्दा माथिको बस्ती सम्म जोखिममा रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply