घनश्याम गौतम, बागलुङ २०७५ असोज ९ । बागलुङ उद्योग बाणिज्य संघ गल्कोट इकाईले आयोजना गरेको कृषि पर्यटन औधोगिक ब्यापार मेला तथा गल्कोट महोत्सव २०७५ को प्रचार प्रसारका सन्दर्भमा सदरमुकाम बागलुङ बजार आईपुगेको टोलीले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल तथा प्रहरी उपरीक्षक दीपक रेग्मीलाई भेटी महोत्सवका बारेमा जानकारी गराएको छ ।
बाउबा संघ गल्कोट ईकाईका अध्यक्ष एवं महोत्सवका अध्यक्ष वीरेन्द्र श्रेष्ठको नेतृत्वमा आएका टोलीले जिल्ला प्रशासन कार्यालमा पुगेर प्रजिअ खरेललाई भेटी महोत्सव बारे जानकारी गराएको हो ।
सो अवसरमा महोत्सव टोली समक्ष बोल्दै प्रजिअ खरेलले महोत्सवको सफलताको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले गल्कोट क्षेत्रको कृषि, पर्यटन, स्थानीय उत्पादन एवं सँस्कृति विकासको लागि महोत्सव महत्वपूर्ण भएको उल्लेख गर्दै महोत्सवलाई लक्षित गरी मध्यपहाडी लोकमार्गको सुधार, शान्ति सुरक्षा, लगायतका कुरामा आफु सजग रहेको जानकारी दिए ।
सो अवसरमा पर्यटन व्यवसायी समिति बागलुङका सचिव अर्जुन चोखालले कार्यालय प्रमुखहरुलाई महोत्सव अवलोकनका लागि आग्रह गरेका थिए । यसैगरी बाउवासंघ सभापति जयराम भारी, गल्कोट ईकाईकी सदस्य मन्जु शर्मा चालिसेले महोत्सवको महत्वका बारेमा बोलेका थिए ।
टोली आजै जिल्ला प्रहरी कार्यालय बागलुङमा पुगी प्रहरी उपरीक्षक रेग्मीलाई महोत्सवका बारेमा जानकारी गराएको थियो ।
सो अवसरमा टोलीसंग कुरा गर्दै प्रहरी उपरीक्षक रेग्मीले शान्ति सुरक्षाका बारेमा चर्चा गर्दै महोत्सव अबेर राति सम्म सन्चालन नगर्ने र मादक पदार्थ सेवनलाई लिएर सजग हुन आग्रह गरेका थिए ।
टोलीले बागलुङ नगरपालिकका उप नगरप्रमुख सुरेन्द्र खड्कालाई पनि भेटेको थियो ।