सुमन सुनार, बुर्तिबाङ २०७५ असोज ९ । ढोरपाटन नगरपालिका वडा नं. २ खलबाङकी मनिसरा नेपालीले आफूलाई चिठ्ठा परेको भन्दै इमोमा फोन आएको भरमा अपरिचित ब्यक्तिलाई १ लाख २५ हजार रुपैयाँ रकम पठाएर ठगिएको भन्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा उजुरी गरेकी छन् ।
हिँजो सोमबार विहान करिव ७ बजेको समयमा मनिसरा नेपालीकी कान्छी छोरी ईश्वरी नेपालीको ईमो नम्बरमा, राणा प्रताप सिँह नाम गरेको अपरिचित ब्यक्तिको फोन आयो । हिन्दी भाषाबाट बोल्दै तपाइलाई २५ लाखको चिठ्ठा परेको छ, केही रकम संस्थालाई बुझाउनु पर्छ भनेपछि त्यही बोलीमा विश्वास गर्दा सो रकम फोन गर्ने व्यक्तिको नाममा पठाएको नेपालीको भनाई छ । नेपालीकी छोरी ईश्वरी नेपालीका अनुसार ठगी गर्ने ब्यक्तिले पटक, पटक फोन तथा एस.एम.एस मार्फत चिठ्ठा जितेको भन्दै बधाई समेत दिन थाले पछि आफु अलमल परेको बताउनुभयो । अचानक आफुलाई त्यसरी ईमो मार्फत फोन कल आउन थालेपछि आफुले हिन्दी भाषामा बोल्न नसक्ने भएकाले आफ्नो भाई सुनिल नेपालीलाई कुरा गर्न दिएको उनको भनाई छ ।
ठगी गर्ने ब्यक्तिले सुनिल नेपालीसंग पनि सोही कुरा बताउँदै नागरिकताको नम्बर, फोटो र खाता नम्बर पठाउन भन्यो । उनिहरु बिच सबै कुराकानी भइसके पछि रकम प्राप्त गर्नका लागी कर बापत केहि रकम पठाइदिन आग्रह गरेको नेपालीले बताईन् । बोलीको भरमा विश्वास गर्दा बुर्तिबाङ बजारबाट आई.एम.ई मार्फत झापा जिल्ला, सोमनाथ अधिकारी भन्नेको नाममा पहिलो पटक रु. ३० हजार पठाइदिएको नेपालीको भनाई छ । ३० हजार आइ.एम.इ गरेको केहि समय पछि सोही ब्यक्तिले फोन गरी पुनः ५५ हजार पठाउन आग्रह ग-यो, नेपाली परिवारले त्यो रकम पनि पठाइदिए । दोस्रो पटक रकम पठाएको करिव १ घण्टा पछि फेरी पनि ठगी गर्ने ब्यक्तीको फोन आएको र २५ लाख रुपैयाँ प्राप्त गर्नका अब ४० हजार पठाउन भनेपछि थप ४० हजार सोही व्यक्तिको नाममा पठाएको मनिसराका छोरा सुनिल नेपालीले बताए । त्यसैगरी तिन पटक गरी सोमबार दिउँसो १ लाख २५ हजार पठाएर साँझ उनिहरु बुर्तिबाङ बजारबाट घर फर्किए । उनीहरु घर फर्किएको केहि समय पछि ठगी गर्ने ब्यक्तिले फेरी फोन ग¥यो । अव ७० हजार थप रकम पठाएपछि मात्र चिठ्ठामा परेको २५ लाख उनीहरुको नाममा आउने बताएपछि उनीहरु दोधारमा परे । कतै आफुहरु ठगीएको हो की ? भन्ने शंका लागेपछि उनिहरु मंगलबार बिहानै ढोरपाटन नगरपालिकाको कार्यालय बुर्तिबाङमा आएर कार्यालयमा कार्यरत कर्मचारीलाई आफ्ना कुरा सुनाएपछि बल्ल आफुहरु ठगीएको थाहा भयो ।
आफुहरु ठगिएको थाहा पाएपछि ठगी गर्ने ब्यक्तिलाई थप रकम पठाउन नसक्ने र आफुहरुले पठाएको पैसा तुरुन्त फिर्ता गर्न भनेपछि ठगी गर्ने व्यक्तिले थप ५ लाख रुपैयाँ पठाएमा मात्र चिठ्ठामा परेको २५ लाख पाउने भनेको उनीहरुको भनाई छ ।
आफ्नो जेठो छोराले विदेशमा दुःख गरी कमाएर पठाएको पैसा आफुहरुलाई चिठ्ठा परेको भनी ठगी गरिदिएपछि आफुहरु निकै समस्यामा परेको मनिसरा नेपालीले ईबागलुङलाई बताईन् । आफुहरु ठगिएको भनी ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा उजुरी गरेको उनले बताईन् ।
यस बारे ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा बुभ्mदा ‘इमो’बाट फोन गरी रकम ठग्नेविरुद्ध प्रहरी कार्यालयमा उजुरी गरेपनि रकम झापा जिल्लामा पठाइएको र अन्तर्राष्ट्रिय गिरोह मार्फत ठगी कार्य भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङ तथा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत न्यायको अपिल गर्न सुझाव दिएको प्रहरी निरीक्षक ओम प्रकास यादवले बताए ।
सामाजिक सञ्जाल फेसबुक, भाइबर, इमो लगायतका माध्यमबाट ठगहरुले विभिन्न प्रलोभन देखाएर रकम ठगी गर्ने स्वदेशी एवं विदेशी गिरोह सक्रिय भएकाले त्यसतर्फ सचेत हुन मोबाइल फोन प्रयोगकर्तालाई प्रहरी निरीक्षक यादवले अनुरोध गरेका छन् ।