बागलुङ २०७५ असोज १४ । राम्रो लगाउने र मीठो खाने नेपालीहरुको महत्वपूर्ण चाडबाड भनेकै दशैँ तिहार हो । नेपालीहरुको घरागनमा दशैँतिहारले दस्तक दिई सकेको छ । घर लिपपोत देखी लालाबालालाई लुगाफाटोको जोरजामतिर लागेको अवस्था छ । हुनेहरु हिमाली च्याँग्रा देखी खसी बोकाको खोजीमा छन भने ऋणधन गरेर भएनि सानो बिलो खोज्नेहरु समेत सलबलाएका छन् । ‘कता छ सस्तो मुल्यको पसल ?, कहाँ पाईएला सुपथ मुल्यमा सरसामान ?’ भन्दै बजार चाहार्नेहरुको भीड बढेको छ । ‘कहिले खुल्ला सालबसाली खुल्दै आएको नूनचीनीको पसल ?’ भन्नेहरुको संख्या पनि कम छैन।
अघिपछी भन्दा चाडबाडमा अलि बढी नै खानपिन, रसरंग, रमाईलो गर्ने अनि मौका पाए जुवातास खेल्ने नेपालीहरुको आनिबानि (परम्परा) छ । मीठो खाने राम्रो लगाउने चाडबाडमा गनिने दशैँ तिहार भनेपछी केहि बढी त हुने नै भयो । केहि बढी भएपछी उत्पन्न हुनसक्ने साईड इफेक्टहरुको रोकथाम र आम नागरिकका लागी जिल्लामा के कस्तो छ त, चाडपर्व लक्षित सुरक्षा, आपुर्ति एवं असामाजिक गतिविधी नियन्त्रणको व्यवस्था ? प्रस्तुत छ, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल तथा प्रहरी उपरीक्षक दीपक रेग्मीसंगको संक्षिप्त कुराकानी:
दशैँ तिहार छट पर्वहरु नजिकिएसँगै यस अवसरमा हुन वा घट्न सक्ने असामाजिक गतिविधी जुवातास, मद्यपान, चोरी डकैती, लुटपाट, कुटपिट लगायत घरेलु हिँशा, झैझगडा रोकथामको लागि सरोकारवाला निकायहरुसंग समन्वय गरी आवश्यक व्यवस्था मिलाई सकिएको जानकारी दिँदै प्रजिअ खरेलले लागु औषध, घरेलु मदिरा तथा अवैध हातहतियार प्रयोग गरी घट्न सक्ने अपराधिक घटनाहरुको न्यूनिकरण, अत्यावश्यक बस्तुहरुको आपुर्ति व्यवस्था तथा सेवाको नियमन कार्यलाई सुरक्षाकर्मीहरु परिचालित गरी अगाडी बढाई सकिएको बताए ।
प्रजिअ खरेलले आतिसवाजी जस्ता विष्फोटक पदार्थ ओसारपसार र प्रयोगमा पूर्णरुपमा बन्देज लगाउने, सुरक्षा निकायका प्रमुखहरुले दशैँ तिहार र छट पर्वहरुमा जिल्ला नछोड्ने र चौबीसै घण्टा गुनासो सुन्ने संयन्त्र बनाई जिल्लालाई सुरक्षित गर्ने कार्य योजना बनाई काम भैरहेको जानकारी दिए ।
कुराकानीका अवसरमा प्रजिअ खरेलले आपत्कालीन अवस्थाको व्यवस्थाका लागी जिल्लामा उपलव्ध साधन, श्रोत, जनशक्ति आदिको सूची तयार पारी चाहेको अवस्थामा परिचालन गर्न सकिने अवस्थामा राखिएको बताए । उनले चाडवाडका अवसरमा दैनिक उपभोग्यबस्तुहरुको अभाव हुन नदिन र सहज आपुर्तिको व्यवस्था मिलाउन व्यापारी, व्यवसायी, उपभोक्ता मन्च सबै सरोकारावालाहरु संग छलफल भैरहेको पनि बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले दशैँ तिहार छठपर्वहरुमा जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न प्रहरी सक्रिय रहेको बताउदै चाडपर्वहरुमा जिल्लामा कुनै अप्रिय घटना हुन नदिन प्रहरी सजग र सतर्क रहेको जानकारी दिए ।
प्रहरी उपरीक्षक रेग्मीले चाडपर्वहरुलाई मध्यनजर गरी सबै सरोकारवालाहरुसंग समन्वय र सम्पर्क गरी जिल्लामा असामाजिक गतिविधी नियन्त्रन गर्ने कार्ययोजना गराएर प्रहरी परिचालित भैसकेको जानकारी दिँदै जुवातास, कौडा आदि गैह्रकानूनी गतिविधी नियन्त्रण गर्न प्रहरी निरीक्षकको नेतृत्वमा केहि संभावित ठाउँहरुमा छापा मारिएको बताए ।
जिल्लामा रहेका सबै ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न आवश्यक निर्देशन दिईसकिएको प्रहरी उपरीक्षक रेग्मीको कथन थियो । नजिएको चाडपर्वलाई मध्यनजर गरी ट्राफिक चेकजाँचलाई कडाई गरिएको बताउदै प्रहरी उपरीक्षक रेग्मीले ट्राफिक नियम बिपरीत बिना लाईसेन्स, बिना दर्ता, मापसेगरी सवारी चलाउने कसैलाई पनि नछोडिने बताए ।
चाडपर्व लक्षित कुनै विशेष योजना सार्वजनिक भएको छ कि भन्ने प्रश्नको जवाफमा प्रहरी उपरीक्षक रेग्मीले भने, सरोकारवाला सबै पक्षसंग छलफल गरेरनै आवश्यक कदमहरु उठाईएको बताए । चाडपर्वका अवसरमा हुने र गरिने सबै खाले अवान्छित कृयाकलापहरु नियन्त्रण गरी जिल्लाबासीलाई सुरक्षाको प्रत्याभूति दिईने उनको भनाई थियो ।
ईबागलुङ डेस्क ।