बागलुङ २०७५ असोज १६ । जिल्ला प्रशासन कार्यालय बागलुङमा उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन निरीक्षण सम्वन्धी जनचेतनामुलक अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको जनचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रममा आसन्न चाडपर्वलाई मध्यनजर गरी दैनिक उपभोग्यबस्तुहरु सहज एवं सुलभ तरिकाले उपभोक्ताहरुलाई उपलव्ध गराउने विषयमा गहन छलफल भएको छ ।
बागलुङ उद्योग वाणिज्य संघ, उपभोक्ता मन्च, सम्वन्धित सरकारी निकायहरुका प्रमुख, उद्योग व्यवसायी एवं सरोकारावालाहरुवीच भएको यस अन्तरक्रियामा दशैँ तिहार छट जस्ता महत्वपूर्ण चाडबाडमा उपभोक्ताहरुको हितमा गर्न सकिने सेवा र सुविधाका बारेमा चर्चा गरिएको थियो ।
अन्तरक्रियामा बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा चाडपर्वका अवसरमा उद्योग व्यवसायी, व्यापारीहरुले अनिर्वार्यरुपमा छुटको व्यवस्था गर्ने र यसको सूची पसल अगाडी राख्ने, चाडपर्वको अवसर छोपी निम्नगुणस्तरीय बस्तुहरु उपभोक्ताहरुलाई विक्री वितरण गर्न निरुत्साहित गर्ने र गरेमा कानूनी कार्बाहीगर्ने, साल्ट ट्रेडिङ कर्पोरेशनले नूनचीनीको सस्तो मुल्यको पसल सन्चालनमा ल्याउने, कालो बजारी हुन नदिने, ट्राफिक नियमको कडाईका साथ लागु गरिने, उपभोक्ता होसियार होउ भन्ने मान्यताबाट बिक्रेता होसियार होउ भन्ने मान्यताको कार्यान्वयन गराउने आदि विषयमा गम्भीर छलफल भएको बताईएको छ ।
छलफलमा बाउवासंघका महासचिव दयाराम पौडेल व्यापारी, उद्योग व्यवसायी, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले उपभोक्ताहरुका सम्वन्धमा, प्रहरी नायव उपरीक्षक बालनर्सिंह राणाले सवारी व्यवस्थापन र सुरक्षाका बारेमा, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख घनश्याम सापकोटाले स्वास्थ्य सम्वन्धमा, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका प्रमुख नारायण प्रसाद पौडेलले मासु एवं दुग्धजन्य पदार्थका सम्वन्धमा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले मासुजन्य पदार्थ, खाद्यान्न सामाग्री, मिठाई जन्य पदार्थ, अवैध घरेलु मदिरा, जुवातास सम्वन्धी जानकारी दिएका थिए ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।