दिनेश शर्मा, बागलुङ (भिङगिठे) २०७५ असोज १८ । तीन हप्ता देखी अवरुद्ध मध्यपहाडी लोकमार्गको तुरतुरे खण्ड अब एक हप्ताभित्र सन्चालनमा आउने ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताएका छन् । तुरतुरे पहिरोको दुबै किनारबाट दुई दुई स्काभेटरहरुले पहिरो पन्छाउने कार्य भैरहेकोले पहिरो क्लियर गर्न हप्ता बढी नलाग्ने पहिरो हटाउने कार्यमा संलग्न प्राविधिकहरुको भनाई छ । पहिरो हटाउने कार्य सुरु भए लगत्तै पैदल यात्रुहरु स्काभेटर रोकिएको मौकामा पहिरो वारपार गर्न थालेका छन् । केहि दिन पहिले जस्तो यात्रुहरुलाई बडीगाड खोला पारी मालरानीको जंगल भएर बुर्तिवाङ खल्तुबोट पुग्नु पर्ने अवस्था भने नरहेको यात्रुहरुले बताए ।
बुर्तिवाङ जाने बैकल्पिक सडकमार्ग भिङगिठे छिसको सिस्नेरी मोटरेबल पुल पार गरेर दर्लिङ हुँदै ट्याक्टर लगायत साना सवारी साधनहरु सन्चालनमा आईरहेकोमा हिँजो साँझ देखी ठुला सवारी साधनहरु पनि सन्चालनमा आएका छन् ।
लोकमार्ग अवरुद्ध बनेपछी बुर्तिवाङमा रोकिएका एक दर्जन ठुला सवारी साधनहरु यहि बैकल्पिक सडक मार्ग प्रयोग गरी गन्तव्य तर्फ गएको बडीगाड गाउँपालिका ९ का वडाध्यक्ष कृष्ण केसीले ईबागलुङलाई बताए ।
हिँजै साँझ सिस्नेरीबाट मालबाहक ट्रक बडीगाड गाउपालिका ९ दर्लिङ खोला पुग्दा स्थानीयहरुले वडाध्यक्ष कृष्ण केसी लगायत ट्रक र यसका चालक रेशम सारुमगरलाई अबीर फुलमाला टीका लगाएर स्वागत गरेका थिए । यसै समयमा बुर्तिवाङमा तीन हप्ता देखी रोकिएका १० वटा बसहरुपनि बैकल्पिक सडक बाट दर्लिङ आउँदा स्थानीयहरुले बस र चालकलाई अवीर माला लगाएर स्वागत गरेका छन् ।
यसैवीच मध्यपहाडी लोकमार्गको तुरतुरे खण्ड सन्चालनमा आउदा साथै पहिरोले पुरिएर बडीगाड खोलामा बनेको तुरतुरे सरोवर (ताल) मा जल विहार (नौका बिहार) को लुफ्त उठाउने मनस्थितिमा थुप्रै युवा पर्यटकहरु देखिएका छन् । बडीगाड खोलामा बनेको ताल (सरोवर) बुर्तिवाङ खण्डबाट अवलोकन गर्नु पर्ने बाध्यता रहेकोले लोकमार्ग सन्चालनमा आउँदा साथै तुरतुरे सरोवरमा नौका विहार (जलविहार) गर्न सम्भव भएको जल बिहारीहरुको धारणा रहेको छ ।
यसका निम्ति ढोरपाटन नगरपालिका र बडीगाड गाउपालिकाले उपयुक्त व्यवस्था मिलाउनु आवश्यक देखिन्छ । सुरक्षाको राम्रो प्रत्यभूति हुनेहो भने तुरतुरे ताल सरोवरमा परिणत हुनेछ र केहि समयमै हजारौँ पर्यटकहरु भित्र्याउन सक्ने विश्वास गरिएको छ । अवरुद्ध लोकमार्ग सन्चालनमा आएपछी तालको पानी फ्याँकने कुराले भने युवाहरुमा निराशा देखिएको छ ।