बागलुङ, २०७३ फागुन २५ । रानीभूमे महिला विकास सहकारी संस्था लिमिटेड सिगाना बागलुङले विविध कार्यक्रमका एक सय सातौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । कार्यक्रममा बोल्दै सांसद चम्पादेवी खड्काले महिलाहरुको हक अधिकार स्थापित गर्नका लागि सबै एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिँदै संविँधानले दिएका महिलाका हक अधिकार सुनिश्चित गर्नका लागि स्थानीय निर्वाचन समयमै गर्नु पर्ने बताएकी थिईन् ।
कार्यक्रममा नेकपा एमाले बागलुङका सचिवालय सदस्य तथा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसीले राज्यका हरेक क्षेत्रमा महिलाको निर्णायक भूमिका निर्वाह गर्नका लागि सहकारीलाई सबल र सक्षम बनाउनु पर्नेमा जोड दिईन् । सहकारीमार्फत महिलालाई आर्थिक रुपमा सबल बनाउदै स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत सहभागिता गराउनु पर्ने बताएकी थिईन् ।
कार्यक्रममा महिलाहरुको नेतृत्व र क्षमता विकासका लागि रचनात्मक क्रियाकलापहरुको भूमिका प्रभावकारी हुने भएकाले दिवसका अवसरमा सहकारी सम्बन्धी रत्यौली प्रतियोगिता, तातो आलु, घैटोफोर लगायतका कार्यक्रम सम्पन्न गरिएको थियो ।
छ समुहले भाग लिएको रत्यौली प्रतियोगितामा सक्रिय आमा समुह प्रथम, जनजागरण महिला समुह द्वितिय र परिवर्तन स्वास्थ्य आमा समुह तृतिय भएका थिए ।
यस्तै तातो आलु प्रतियोगितामा लालमती परियार प्रथम, मनु क्षेत्री द्वितिय र झनकला जिसी तृतिय हुनु भएको थियो । यसैगरी घैटोफोर प्रतियोगितामा विजु जिसी प्रथम हुनु भएकी थिईन् ।
रानीभूमे महिला विकास सहकारी संस्थाले महिलाहरुको नेतृत्व विकास, सिपमुलक तालिम लगायत आर्थिक रुपान्तरणका क्षेत्रमा विगत डेढ दशकदेखि काम गर्दै आइरहेको छ ।