शव्द/चित्र : झरना कँडेल/पाना कुँवर
बुर्तिवाङ २०७५ असोज २८ । तुरतुरेको ताल अहिले सबैको लागि आकर्षणको केन्द्र बनेको छ । तुरतुरे देउरालीको पहिरोले २३ दिन मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदाको पीडा, पहिरोले बडीगाड नदी थुनिएर बनेको मनोरम ताल (जलाशय) को दृश्यावलोकनले बिर्साई दिएको छ । बिपदबाट बनेको तुरतुरेको ताल अहिले सबैको गन्तव्य बनेको छ ।
के विहान, के मध्यान्ह, के दिउँसो, के साँझ हर समय तालमा झुमिनेहरुको संख्या धेरै हुन्छ । सेल्फी लिनेहरुको ताँती लाग्छ । कुन ठाउँमा उभिएर कुन पोजमा तस्वीर खिच्ने भन्ने रोजाईले समय लिएको पत्तो हुँदैन । प्रकृतिले निर्माण गरेको यस तालको मनोहरतालाई पिउनेहरु धीत नमर्दा सम्म जलाशयकै आसपासमा घुमिरहेका हुन्छन् । प्राकृतिक छटा युक्त जलाशय प्रतिको आकर्षणले उच्छ्वास र उन्मुक्तिको आभास मिलेको हुन्छ । जलाशयको शितलताले कोमल हुदयमा पारेको प्रभाव अविष्मरणीय हुन्छ । शितल जलकण सँगै स्वयंपनि उडौँउडौँ लाग्छ । मधुर मिलनको मीठासको स्मरण मात्रले मन अल्हादित भएको अनुभूति हुन्छ ।
तुरतुरे तालको छेउछाउ उभिएर फेवातालको स्मरण गर्ने मुटुहरुले जलाशयमा नौका विहारको परिकल्पना गरिरहेका हुन्छन् । यसकारणपनि यस क्षेत्रका जनता तुरतुरे तालमा जलविहारको लुफ्त उठाउन लालायित रहेका छन् । तालको संरक्षणको आवज उठाई रहेका छन् । ताकि हामी जस्तै सयौँ संगी साथीहरु दिनहुँ जलाशय अवलोकनका लागि आउने गर्छन् ।
अनिता कुँवर र सुशिला कंडेलका साथमा हामी झरना कँडेल र पाना कुँवर ।