शव्द/चित्र : रबिना बोहोरा
बागलुङ २०७५ कात्तिक १८ । तिहार नजिकिँदै गर्दा बागलुङका शहर बजार तथा गाउँगाउँमा देउसी–भैलो खेल्ने कार्यक्रम सुरु भएको छ । संस्कृतिको जगेर्ना, सामाजिक कार्य, विकास निर्माण लगायत विभिन्न उद्देश्य राखेर देउसी–भैलो खेल्न थालिएको हो ।
रमाइलोका लागि खेलिने देउसी–भैलो पछिल्लो समय रमाइलोसँगै संस्कृतिको जगेर्नामा पनि केन्द्रित हुन थालेको छ । बागलुङमा रहेको दि साईनिङ डान्स ग्रुपले आइतबारबाट देउसीभैलो सुरु गरेको छ । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारीमा जाने लहर बढ्दै गएकाले यसलाई न्यूनिकरण गर्नुपर्ने कलाकारहरुले नृत्यमा देखाएका थिए । ठुला आशा र सपना बोकेर विदेशको भुमीमा गएका कयौँ नेपालीहरु मृत शरिर ल्याएर फर्कनुपर्ने अवस्था रहेको बिषयलाई चित्रण गरिएको छ । यससंगै विभिन्न लोक संस्कृति एवं नयाँ नेपाली, हिन्दी गितहरुबाट पनि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
गत बर्ष देउसी भैलोबाट संकलन भएको केही रकम आर्थिक अवस्था कमजोर भइ उपचार गराउन नसकेका परिवारलाई सहयोग गरेकाले यस बर्ष पनि सामाजिक कार्यमा पनि सहयोग गर्ने लक्ष्य राखेको दि साईनिङ डान्स ग्रुपका मुस्कान आलेले जानकारी दिए । तिहार जस्ता चाडपर्वमा मनोरञ्जन मात्र नभई कला, संस्कृतिको जगेर्ना गर्ने लक्ष्य पनि राखेको उनले बताए ।
डान्स ग्रुपले आईतबार कृषि विकास बैँक अगाडीबाट कार्यक्रम सुरु गरेको थियो । तिहारको दिन सम्म निरन्तर रुपमा भैलो खेल्ने उनीहरुले बताएका छन् । यससंगै डाइनामिक डान्स ग्रुपले पनि आईतबारबाट नै देउसी खेल्न थालेको छ ।