पहिलो चोटी आयोजना गर्न लागिएको ‘बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला’को तयारीमा आयोजकहरु जुटेका छन् । मंसिर १ गते देखी ९ गते सम्म सन्चालन हुने महोत्सव उद्घाटनका लागि पर्यटन मन्त्री रबिन्द्र अधिकारी आउने समाचारसँगै बडीगाड जुर्मुरिएको अवस्था छ ।
महोत्सवको पहिलो दिन अर्थात मंसिर १ गते पौँदेलीहरुको न्वागी खाने शुभ साईत निस्केको शुभ दिन हो । यस क्षेत्रमै चर्चित पौँदेलीहरुको न्वागी मेलालाई बडो महत्वका साथ लिईन्छ । यो मेला एक हप्ता सम्म चल्छ । प्रत्यक वर्ष ग्वालिचौरको खारबजारमा मनाईने पौँदेलीहरुको प्रशिद्ध न्वागी मेलालाई धार्मिक, सांस्कृतिक एवं कृषि पर्वका रुमा लिने गरिन्छ । न्वागी मेलालाई समेटेर प्रथम बडीगाड महोत्सवको आयोजना हुनुलाई सकारात्मक रुपमा लिईएको स्थानीयले बताएका छन् ।
महोत्सवको तयारीलाई लिएर विश्लेषण गर्नु पर्दा आयोजक एवं यसमा सक्रिय अभियन्ताहरुको खटनपटनले कुनै कसर बाँकी रहेको भन्न मिल्दैन । सबैले आआफ्नो क्षेत्रबाट गच्छे अनुसारको सहयोग जुटेको अवस्था छ ।
आसन्न महोत्सवलाई लक्षित गरी गाउँपालिकाले जनप्रतिनिधीहरुको ड्रेस कोड (पोशाक) कालो रंगको कोट पाइन्ट र सेतो कमिज, महिला प्रतिनिधीहरुका लागि ढाकाको गुन्यु चोली र कालोकोट तोकेपछी नयाँ तरंग ल्याएको छ ।
गाउँपालिकाका दशै वडाहरुका महत्वपूर्ण स्थानहरुको ड्रोन क्यामराबाट तयार पारिएको बृत्तचित्रको प्रदर्शन गरिने आयोजकले पूर्व घोषणा गरेको छ । दशै वडाहरुका साँस्कृतिक, धार्मिक, पर्यटकीय लगायतका क्षेत्रहरुको अबलोकन, गाउपालिकाको ग्वालिचौर स्थित प्रशिद्ध थानापतिको दर्शन, चमेरे गुफाको अवलोकन, दर्लिङ, भिङगिठे, जलजला, सिसाखानी, दगातुंडाडा (साविकका गाविसहरु)मा रहेका साँस्कृतिक महत्वका कुमाल जातिको लोपोन्मुख हेम्फै नाँच, जलजलाको सोरठी नाँच, सिसाखानीको घाटु नाँच लगायत विभिन्न जातजातिको पहिचान झल्किने भेषभूषा (पहिरन) को प्रदर्शनले बडीगाडको पहिचान दिने विश्वास गर्न सकिन्छ । महोत्सव अवलोकन गर्न आएका बाह्य पर्यटक (दर्शक)हरुलाई थानापतिको दर्शन एवं चमेरे गुफाको अवलोकनको लागि सहज वातावरणको व्यवस्था पहिलो प्राथमिकता बन्नु पर्छ ।
खारबजारका नेवार समुदायव्दारा प्रदर्शन गरिदै आएको बाघ नाँचलाई महोत्सवमा समेट्नु उपयुक्त हुने विचार पनि बाहिर आएको छ । यतिमात्र नभएर गाउपालिका भित्र रहेका विभिन्न जातजातिले परम्परा देखी प्रयोग गर्दै आएका तर लोपोन्मुख घरेलु सामाग्रीहरु संकलन गरी प्रदर्शन गर्नु समय सापेक्ष हुन सक्छ ।
बडीगाड खोलाको असला माछाको प्रशंग पनि आयोजकले उठाएका छन् । भरखर सम्पन्न गल्कोट महोत्सवमा दरमखोलाको असला माछाको कुरा चलेको थियो । कति दर्शकले असला माछाको के के परिकार खाए त्यो कतै देख्न पाईएन । जब भनिन्छ, त्यो पुग्नु पर्छ । दुईचार रिकापी माछाले महोत्सव धान्न सकिन्न कि ?
समष्टिगतरुपमा भन्नुपर्दा बडीगाड महोत्सव बडीगाडमय हुनु पर्छ ताकि यस भित्रको प्रतिनिधित्व गर्ने स्थानीय उत्पादन, कला, सँस्कृति, परम्परा, संस्कार, पर्यटन, उद्योग व्यापार आदिको बृद्धिमा टेवा पुगोस् ।
महोत्सवलाई साँस्कृतिक पर्वका रुपमा मन्चन गरिने बढ्दो प्रवृत्ति समाजलाई घातक एवं प्रत्युत्पादक बन्दै गएको छ । “सिएटी क्याट, क्याट माने बिरालु” भनेझैँ महोत्सव माने “आयातीत कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति” भनेर परिभाषित गर्ने अवसर दिन हुन्न कि ? महोत्सवमा बाहिरबाट आयातीत कलाहरुको बेजोड प्रस्तुती भित्र छिपेको ‘अर्थ’ को ‘अनर्थ’ पछिल्लो समय आम जनमानसमा छताछुल्ल भएको छ । धेरै टाढा नजाउँ, भरखरैमात्र सकिएको प्रथम गल्कोट महोत्सव २०७५मा तीन दर्जन कलाकारहरुका हातमा आयोजकले प्रदान गरेको पत्रम् पुष्पम् (नगद नारायण) सुन्दा आयोजकको ढाडै सेकिएको हुनुपर्छ । भन्न नहुने व्यथा साह्रो भनेझैँ गल्कोट महोत्सवमा एक जना कलाकारका लागी रु १ लाख ५० हजार सम्म दक्षिणा गएको तीतो यथार्थ बाहिर आएको छ ।
बडीगाड महोत्सवमा पनि चर्चित कलाकारहरु झण्डै गल्कोट महोत्सव कै हाराहारीमा रहेका छन् । चर्चित कलाकारहरु ल्याउने कथित प्रतिष्पर्धाले बिकरालरुप लिँदै गएको छ, जुन हरहालतमा उपयुक्त हुन सक्तैन । महोत्सवका नाममा संकलित लाखौँ रकम यसरी आफु खुसी निम्त्याईएका कलाकारहरुलाई दक्षिणामा खर्च गर्नु एक किसिमको नाजायज काम हो । प्रायोजक खोजेर, चन्दा उठाएर, गाउपालिका संग विकास निर्माण योजनाहरुमा खर्चिने रकम लिएर महोत्सव गर्ने, उठेको रकम मामाको धन फपूको श्राद्ध भने झैँ बालुवामा पानी जस्तै अनुत्पादक क्षेत्रमा खर्च गर्नु पाप हो भन्ने महसूस गरेर आयोजकहरु डराउनु पर्छ । लहड र रहरले गाउँपालिकाको रकम खर्च गर्न मनासिब हुन्नकि ? नागरिक समाज पनि यस गलत प्रबृत्ति रोक्न सजग हुनु पर्ने समय आइसकेको छ । अब ढीला गर्न हुन्न ।
एकजना सन्चारकर्मीले सामाजिक सन्जाल फेसबुक मार्फत जनहितमा एक सन्देश दिएका छन, त्यसलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ । अस्तु,
२०७५ कात्तिक २३ ।
बागलुङ ।
तस्बीर- केहि वर्ष पहिले पौँदेलीहरुको न्वागी मेलामा आफ्नै पहिरनमा सजिएका स्थानीय दुई किशोरी।