कमल पौडेल, बडीगाड (बागलुङ) २०७५ कात्तिक २४ । भिमगिठे माध्यमिक विद्यालय, बडीगाड ७ मा अध्यापनरत शिक्षक भीमलाल भुसालको ५५ वर्षको उमेरमा असामयिक निधन भएको छ । साबिक दगातुंडाँडा सक्न्यारमा २०२० साल साउनमा जन्मिएका भुसाल सक्न्यार कै एक विद्यालयबाट शिक्षण पेशामा लागेका थिए ।
पन्चायत व्यवस्थाका प्रखर विरोधीको रुपमा चिनिने भुसाल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधी थिए । यस क्षेत्रकै पहिलो हार्मोनियम बादक भुसाल कुशल संगीतज्ञ मात्र नभएर कुशल उद्घोषक र गायक थिए । उनी हिमाली साँस्कृतिक परिवार हुँदै राष्ट्रिय जनसाँस्कृतिक महासंघ जिल्ला कमिटीमा रहेर काम गरेका थिए । जनवादी प्रगतिशील गायक तथा वामपन्थी नेताको पहिचान बनाएको स्व भुसाल गत भदौ महिनामा चिप्लिएर लडेपछी शिरमा चोटका कारण भक्तपुर लोकन्थलीमा रहेर उपचार गराईरहेका थिए । कात्तिक २३ गते मर्निङ वाकमा निस्किएका भुसालको हृदयघातका कारण निधन भएको थियो । स्व भुसालका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।
उनको असामयिक निधनले बडीगाड शोक मग्न छ । ‘अस्ताए भीमलाल सर, अँध्यारै भयो बडीगाड …’ यतिबेला यहि पीडादायी शव्द जनजनका मुखबाट बाहिर निस्किरहेछ ।