दिनेश शर्मा, खारबजार (बागलुङ), २०७५ मंसिर १ । पौँदेलीहरुले परम्परादेखी मनाउदै आएको न्वागी खाने मेला (पर्व) यस वर्ष पनि धार्मिक विधिविधान अनुसार विष्णु भगवानलाई चढाएपछी न्वागी ग्रहण गरेका छन ।
यस वर्षको न्वागी खाने शुभसाईत छत्रकोट मन्दिरका ज्योतिष पण्डितहरुव्दारा मंसिर १ गते निश्चित गरिएको थियो भने हिँजो दिउसो मात्र न्वागी ग्रहण गर्ने शुभ समय अहिले विहान ५ बजेर ४२ मिनेटमा तय गरिएको थियो । आज विहानको सो समयमा पश्चिम दक्षिण (नैरित्य) दिशा तर्फ फर्किएर भगवान विष्णुलाई अर्पण गरे पछी पौँदेलीहरुले न्वागी खाएका छन् ।
साबिक ग्वालिचौर गाविसका पहिलो अध्यक्ष लाल बहादुर घिमिरे तथा तत्कालीन ग्वालिचौर गाउँपन्चायतका प्रधानपन्च टेकहादुर घिमिरे लगायत पौँदेलीहरुले शुभ समय र निश्चित दिशा तिर फर्किएर धार्मिक विधीपूर्वक न्वागी ग्रहण गरेका छन् । र अहिले आफन्तजन, ईष्टमित्रहरुलाई समेत न्वागी खुवाउने क्रम जारी रहेको छ ।
आज देखी मंसिर ९ गते सम्म आयोजना गरिएको प्रथम गल्कोट महोत्सव तथा पौँदी न्वागीमेलाका दर्शकहरुलाई न्वागी खुवाउने कार्यक्रम रहेको श्रोतले बतायो ।
तस्वीर सौजन्य: शिव घिमिरे, ग्वालिचौर ।