प्रेम सुनार, गुल्मी २०७५ मंसिर २ । डेढ बर्ष अघि सम्म विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र विरुद्ध त्यहाँका जनता पटक पटक विरोधमा उत्रिन्थे । पटक पटक बत्ति गई रहने , ठाउँ ठाउँमा ट्रान्सफर्मर जल्ने , कतै भुई सम्म तार लत्रिने गर्दा त्यस वितरण केन्द्रको कार्यालयमा कहिले डेलिगेशन , कहिले घेराउ त कहिले आगाजानी सम्मका घटना घट्ने गर्दथे ।
एक पटक त आन्दोलन नियन्त्रण गर्न नसकेर प्रहरीले हवाई फायर समेत कार्यालय अगाडी गर्नु परेको थियो । एक पटक कार्यालय प्रमुख समेत रातारात भाग्नु परेको थियो । तर गत डेढ बर्ष यता कुनै पनि ब्यक्ति बिरोधको भाषा लिएर त्यस कार्यालयमा पुगेको पाईएको छैन ।
सामन्य खराबी आउँदा कहिले काँही केहि बेर बत्ति गए पनि लोड सेडिङ्गको अन्त्य भएको छ । यसको श्रेय गत एक बर्ष अघि कार्यालय प्रमुखको कार्यभार सम्हालेका ईन्जिनियर नारायण अर्याललाई जाने सरोकारवालाहरु बताउँछन ।
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले यसपाली त्यस केन्द्रको प्रमुखमा अर्याल आए देखि यहाँका जनताले विद्युतबाट खेप्नु परेको सास्तीबाट मुक्त भएको बताए । उनले भने–‘ जसरी विद्युतको क्षेत्रमा केन्द्रमा कुलमान घिसीङ्गको चर्चा छ त्यस्तै चर्चा गुल्मीमा अर्यालको हुन थालेको छ ।’
उनले अर्याललाई गुल्मीको कुलमान घिसिङ्गको संज्ञा दिए । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेले पनि अर्यालको कामबारे प्रशंसा ब्यक्त गर्दछन । बिद्युतका बारेमा पहिला पहिला ब्यबसायीबाट निकै गुनासाहरु आई रहन्थ्यो ’पाण्डेले भने–‘ अहिलेका हाकिम आए पछि बिद्युतका बारेमा एउटा पनि गुनासा आएका छैन , यस हिसावले उहाँ प्रशंसाको पात्र हुनुहुन्छ ।’
यहाँका राजनैतिक दलका भातृ संगठनले पनि डेढ बर्ष अघि सम्म पटक पटक प्राधिकरण बिरुद्ध आवाज उठाउँने गर्दथे । अहिले ती संगठनहरुले पनि प्रधिकरण बिरुद्ध एक पटक पनि आवाज उठाएका छैनन् ।
आर्थिक बर्ष २०७० ÷ ०७१ सालमा बुटवल क्षेत्रिय कार्यालय संग गुल्मीको विद्युती करणका लागि चार वटा टेण्डर परेका थिए । तर उनि आउने बेला सम्म उक्त टेण्डरको काम अलपत्र परेको थियो । उनले कार्यभार सुरु गरे लगत्तै ती टेण्डरहरुको काम सुरु गरे ।
मेनलाईन र ट्रान्सफर्मर जडान गरेर सके । ३३ केभिए रिडी देखि विरवास सम्मको लाईन क्षमता बृद्धि गरे । जम्मा डेढ एमभिए विरवारको शव स्टेशनलाई ८ एमभिए क्षमता बृद्धि गरे । रेसुङ्गा नगरपालिका भित्रका काठका पोलहरु विस्थापित गर्दै स्टील पोलहरु गाड्न सुरु गरे ।
नाङ्गा तारहरु हटाएर केवल राख्ने काम गरे । उनि आए पछि थप २२ सय ३५ घर धुरीमा बत्ति पुराए । सदरमुकाम तम्घासमा अब १ सय ३२ केभिएको शव स्टेशन निर्माणको काम सुरु गर्दै छन । उनि कार्यालयमा कम बस्छन । हप्तामा दुई तिन दिन मात्रै कार्यालयमा बस्ने र बाँकी समय अनुगमन र विद्युत मर्मतमा हिड्ने गरेको उनका कर्मचारीहरु बताउँ छन ।
उनी भन्छन –‘ एक जना ईञ्जिनियर साव ( मेखराज जोशी ) र नियमित अनुगमनमा पुग्छौं । हामीले यहाँबाट गरेका काम मात्र छैनन केन्द्रबाट परेका टेण्डरहरुको काममा बढी निगरानी पुराउने गरेका छौं । हामी आफुले यस्तो गरियो भन्दा पनि नागरिकहरुलाई सहि सेवा दिन सकियो कि सकिएन भन्ने कुरा नै मुख्य हो । ’
उनका अनुसार गुल्मीका राष्ट्रिय प्रशारण लाईनबाट २६ हजार देखि २५ हजार घरधुरीले बत्ति बालेका छन भने २२ हजार घरधुरीले सामुदायिक विद्युतीकरणबाट बत्ति बाल्दछन । साविका ७९ गाविस मध्ये अर्खबाङ्गले मात्र राष्ट्रिय र सामुुदायिक विद्युतिकरणबाट बत्ति बाल्न पाएको छैन । सो वडाले लघुजलविद्युतबाट बत्ति बाल्दै आएको छ । अग्लुङ्गमा अर्याल आए पछि बत्ति बालिएको हो ।
केहि दिन अघि गृह जिल्ला आएको श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री गोकर्णराज बिष्टले पनि एक कार्यक्रममा पछिल्लो चरण बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको काम प्रति सन्तोष ब्यक्त गरेका थिए । सेवाग्राहीहरुले पनि उनि आए पछि सन्तोष ब्यक्त गर्दै आएका छन ।