दिनेश शर्मा
खारबजार, बडीगाड २०७५ मंसिर ३ । खार बजारमा जारी प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलामा ढारेपाटन नगरपालिका साबिक अधिकारीचौर गाविस ५ चामिव्दार घरभै बुर्तिवाङ बजारमा आरन व्यवसाय गर्दै आएका मनबहादुर विकले बनाएको ६ फिट ८ ईन्च लामो र ३५ केजी तौल भएको खुकुरीले चर्चा पाएको छ । यति अजंगको खुकुरी बनाउदा उनी जम्मा ३६ वर्षका थिए ।
तयार गर्दाको अवस्था
एक नेपालीले जापानको एक रेष्टुरेन्टमा नेपालको चिनोको रुपमा सजाएर राख्न यो खुकुरी बनाउन अर्डर दिएकाले उनले यो खुकुरी बनाएका हुन् । खुकुरी बनाउन ती व्यक्तिले मनबहादुरलाई रु ५ हजार पेस्की समेत दिएका थिए । त्यति परिश्रम र सीपले बनाएको खुकुरी लिन अर्डरवाला व्यक्ति नआएको र फोनसम्पर्क समेत नभएपछी उनी यसलाई बिक्री गर्ने चक्करमा देखिन्छन् ।
खुकुरी लिएर शिल्पी मनबहादुर काठमाडौँ, गुल्मीको रिडीमा लाग्ने मेलाहरुमा समेत पुगे तर खुकुरी हेर्ने धेरै भए किन्न खोज्ने कोहि भएनन् । राज्यले खुकुरी खरीद गरिदिएर मनबहादुरलाई सहयोग गर्नु पर्ने अवस्था आएको छ ।
करीब ६ वर्ष बैदेशिक रोजगारीमा बिताएका मनबहादुर अहिले आरन व्यवसाय गरेर जिबिकोपार्जन गर्दै आएका छन् । उनि ३८ वर्ष उमेर उकालो लाग्दैछन् । उनले साना ठुला खुकुरी बाहेक राम्रा र लाग्ने धारिला आँसी हँसिया लगायत घरेलु हतियार बनाउदै आएका छन । उनको आरन व्यवसाय राम्रो छ । उनको सीप र दक्षताबाट सबै प्रभावित छन् ।
दुई वर्ष पहिले मनबहादुर र उनले आफ्नो सीप, कला र क्षमताबाट तयार गरेको खुकुरीका बारेमा सर्वप्रथम ईबागलुङले २०७३ साल माघ महिनाको २५ गते बुर्तिवाङको खुकुरी ! शीर्षकमा साताको तस्वीरमा मनबहादुर बिक बारेमा समाचार प्रकाशित गरेको थियो । उनले त्यतिबेला ईबागलुङसंग कुरा गर्दै खुकुरीलाई गिनिज बुकमा लेखाउन प्रयास गर्ने बताएका थिए ।
तस्वीर- सुबासा पन्त, बागलुङ ।