Sorry, that menu does not exist.
 

दरम खोलाको मुहानमा रेन्बो ट्राउट माछा पाल्न ९ वटा पोखरी !

बालकृष्ण सुवेदी, गल्कोट २०७५ मंसिर ७ । ‘चिसो पानीको मीठो असला माछा’ भनेर बहुप्रचारित दरमखोलाको मुहान ताराखोलामा ९ वटा पोखरी बनाएर रेन्बो ट्राउट माछा पालन व्यवसाय सुरु गरिएको छ । बागलुङ बजारका उद्यमी व्यवसायी सुवास राजभण्डारीले स्थानीय वडा अध्यक्ष जीतबहादुर खत्री, पदम खत्री र दीपा रोकासँगको व्यवसायिक सहकार्यमा करिब ५० लाख रुपियाँ लगानी गरेर माछापालन व्यवसाय सुरु गरेका हुन् । उच्च पहाडी भुभागको चिसो पानीमा हुने रेन्बो ट्राउट माछाको माग बढ्न थालेपछि उद्योगी व्यवसायीहरुले विकट ग्रामिण क्षेत्रमा केन्द्रीत भई यस क्षेत्रमा लगानी गरेका हुन् ।

ताराखोला बहुउद्देश्यीय रेन्बो ट्राउट माछा फर्म दर्ता गरी सुरु गरिएको उक्त माछापालनका लागि अहिले प्राविधिक रुपमा माछाका लागि उपयुक्त ९ वटा पोखरीमा माछा पालन गरिएको र केही समयपछि थप १० वटा पोखरी तयार गरिने व्यवसायी जीतबहादुर खत्रीले बताए ।

रेन्बोट्राउट माछाका लागि अत्याधिक चिसो, सलल बग्ने, मिसावट नहुने, अक्सिजनको मात्रा बढी भएको सफा पानी आवश्यक हुने भएकाले प्राविधिक अध्ययन गरी ताराखोला ४ मा माछापालन सुरु गरिएको उद्यमी खत्रीको भनाई छ ।

रेन्बो ट्राउट माछाका लागि उपयुक्त पानीको मुहान सहितको स्थान खोजीका लागि केहि समय वितेपनि ताराखोला गाउँपालिका वडा नं. ४ को छन्टुमा उपयुक्त मुहान सहितको स्थान फेला पारेपछि त्यही लगानी गरिएको उनले बताए ।

प्राविधिक रुपमा उपयुक्त नौं वटा पोखरीका लागि करिब १२ हजार भुराहरु नुवाकोटबाट ल्याएर माछापालन गरिएको भएपनि टाढाबाट भुराहरु ल्याउँदा केही समस्या हुँदा पाँच हजार भुराहरु मरेपनि अहिले पोखरीमा ७ हजार भुराहरु स्वस्थ रहेको उद्यमी राजभण्डारीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply