Sorry, that menu does not exist.
 

बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा, बिभिन्न टोली व्यापक प्रचार अभियानमा !

लोकेन्द्र निरासी, बुर्तिवाङ मंसिर ११ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रबाट उच्च शिक्षा प्रदान गर्दै आएको निसीभुजी जनता क्याम्पस बुर्तिबाङलाई सुविधा सम्पन्न स्मार्ट क्याम्पस संचालनार्थ आयोजित बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सव—२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव यही मंसिर १५ गतेदेखि २१ गतेसम्म संचालन हुँदै छ ।

महोत्सवलाई व्यवस्थित गर्न यसभन्दा पहिला नै २५ सय १ सदस्यीय मूल समारोह समितिको गठन गरिएको छ भने विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । यतिबेला कार्यक्रमको आयोजना गर्ने स्थल उत्तरगंगा मा.वि.को प्राङ्गणमा महायज्ञका लागि यज्ञमण्डप, पूजापीठ, होमकुण्ड आदिको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महोत्सवलाई व्यवस्थित बनाउन गत मंसिर ६ गते सचिवालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले गरेका थिए ।

यतिबेला महोत्सवको प्रचारप्रसार अभियानलाई पनि तीब्र पारिएको आयोजकले जनाएको छ । प्रचारप्रसारको लागि ५ ओटा फरक फरक टोलीहरुको गठन गरि व्यापक प्रचारप्रसार अभियानमा लागिरहेका छन् । महोत्सव मूल समारोह समितिका निर्देशक धीरप्रताप सिंहको नेतृत्वमा टंक पौडेल, चिन्तामणि कँडेल र ज्ञान प्रसाद कँडेल सहितको को टोली बागलुङ, पोखरा र काठमाण्डौं, त्यसैगरी सहनिर्देशक तुल्सीराम अर्यालको नेतृत्वको टोली बडीगाड गाउँपालिका, अध्यक्ष चन्द्र अर्याल सहित शेषकान्त खरेल र चित्र बहादुर भण्डारीको टोली ढोरपाटन नगरपालिका, सह अध्यक्ष टंक प्रसाद पौडेलको टोली निसीखोला गाउँपालिका र चिन्तामणि शर्मा र ज्ञान प्रसाद कँडेल सहितको टोली तमानखोला गाउँपालिकामा प्रचारप्रसार अभियानमा जुटेको छ ।

सिँहको नेतृत्वको टोलीले सोमबार गल्कोट र बागलुङ नगरपालिकाका पदाधिकारीहरुलाई भेटी महोत्सवबारे जानकारी गराउदै निमन्त्रणा गरिएको ईबागलुङलाई जानकारी गराएको छ ।

बजार क्षेत्रमा पनि पर्चा, पम्पेलेट टाँस गर्ने ११ साय कलस यात्राको लागि रसिद कटाउने काम अन्तिम चरणमा पुगेको छ । यही मंसिर १५ गतेका दिन विधिपूर्वक ११ सय कलशयात्रा सहित महोत्सवका विविध धार्मिक कार्यक्रमहरु प्रारम्भ गरिने महोत्सव मूल समारोह समितिका अध्यक्ष चन्द्र अर्यालले जानाकारी दिए ।

महोत्सवलाई सफल पार्न क्याम्पसका प्राध्यापक, विद्यार्थी, समाजसेवी, सामाजिक एवं शैक्षिक व्यक्तित्वहरुलाई समेत परिचालन गरिएको छ । सूचनाको आदानप्रदान, प्रचारप्रसार लगायत महोत्सवको देशविदेशमा समेत व्यापक प्रचारप्रसार गर्न महोत्सव सचिवालयमा ४ जना महासचिव र २ जना कार्यालय सचिव सहितको टोली चौबिसै घण्टा आलोपालो गरि महोत्सव कार्यमा खटिरहेका छन् ।

महोत्सवमा प्रत्येक दिन विहान ७ बजेदेखि पूजा अर्चना, पाठ पारायण त्यसैगरी १० बजेदेखि ४ बजेसम्म कथा वाचन, प्रवचन र झाँकी प्रदर्शन, साँझ ७ बजेदेखि १० बजेसम्म भजन कीर्तन र कथा प्रवचनका साथै प्रत्यक दिन विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म धार्मिक अनुष्ठान र विधिपूर्वक शान्ति कलश एवं भगवानको पूजा अर्चना गरिने महोत्सवका शैक्षिक अभियन्ता ब्राम्हण ईश्वर शरण महाराजले बताए । उक्त महोत्सवमा विराट धनधान्य महापर्व, पितृमुक्तिको पूजा, श्रीमद् भागवत् कथा प्रवचन, गौदान, रुद्री पाठ, कलश यात्रा, तुलादान, चौरासी पूजा, ब्रतबन्ध, ग्रहशान्ति, लाखबत्ती प्रज्वलन, महालक्ष्मीको पूजा, विवाह लगायत धार्मिक पूजाआजा सहित राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन किर्तन गरिने कार्यक्रमहरु रहेको आयोजकले जनाएकोे छ ।

महोत्सवबाट संकलित रकमले निसीभुजी जनता क्याम्पसको प्राज्ञिक तथा शैक्षिक व्यवस्थापन गरी क्षेत्रकै सुविधा सम्पन्न स्मार्ट क्याम्पसको रुपमा विकसित गरिने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply